काठमाडौँ — मुख्य तीन ठूला दल कांग्रेस, एमाले र माओवादीले प्रतिनिधिसभा सदस्यका लागि उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा युवा उमेरका, नयाँ सोच र विचारका उम्मेदवारको चर्चा भए पनि ठूला दलले पुरानैलाई निरन्तरता दिएका हुन् ।कांग्रेसले काठमाडौंमा प्रतिनिधिसभाका १० मध्ये क्षेत्र नम्बर १, ३, ४, ५, ६ र १० गरी ६ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार उठाएको छ । जसमा ४ क्षेत्रमा पुरानै अनुहार छन् । काठमाडौं–१ मा एमालेका युवा नेता किरण पौडेल नयाँ अनुहार हुन् । उनी एमाले भातृसंस्था युवा संघका अध्यक्ष हुन् । उनी पहिलो पटक निर्वाचनमा प्रतिस्पर्धा गरिरहेका छन् । कांग्रेसका उम्मेदवार प्रकाशमान सिंह गठबन्धनका उम्मेदवार हुन् । उनी निर्वाचित भएर पटक–पटक मन्त्री भइसकेका व्यक्ति हुन् भने पार्टीको महामन्त्री पनि भइसकेका छन् । २०७४ को निर्वाचनमा उनी यही क्षेत्रबाट तत्कालीन साझा पार्टीका रवीन्द्र मिश्रसँग ८ सय १८ मतले विजयी भएका थिए । मिश्र अहिले राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका छन् । कांग्रेस बीपीका निषम भट्टराई, विवेकशील साझाका शंकर बञ्जाडे, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, नेपालका लागि नेपाली पार्टीका बालकृष्ण न्यौपाने, नेपाल सुशासन पार्टीका रमेश खरेललगायत यो क्षेत्रका नयाँ प्रतिस्पर्धी अनुहार हुन् ।
काठमाडौं–२ मा एमालेका मणिराम फुयाँल प्रतिनिधिसभाका लागि नयाँ अनुहार हुन् । गठबन्धनको साझा उम्मेदवार माओवादीकी ओनसरी घर्ती छिन् । यो क्षेत्रका लागि उनी नयाँ अनुहार भए पनि संविधानसभा र संसद्मा पटक–पटक प्रतिनिधित्व गर्दै आएकी छन् । सभामुख भइसकेकी घर्तीले यसअघि रोल्पाबाट प्रतिनिधिसभामा जितेकी थिइन् । सचेत नेपाली पार्टीका पुण्यप्रसाद प्रसाईं, राप्रपाका महेश गौतम, राष्ट्रिय स्वतन्त्र पार्टीका शोभिता गौतम, नेपाली कांग्रेस बीपीका हेमविक्रम सिलवाल, विवेकशील साझाका धनेश थापालगायतका नयाँ अनुहार प्रतिस्पर्धामा छन् । मुख्य प्रतिस्पर्धा भने फुँयाल र घर्तीबीच नै हुने अनुमान छ ।
कांग्रेसका सन्तोष चालिसे काठमाडौं–३ मा प्रतिनिधिसभा सदस्यको उम्मेदवार छन् । उनी पहिलो पटक आमनिर्वाचन लड्दै छन् । यसअघि गोकर्णेश्वर नगरपालिका प्रमुख रहिसकेका उनी पार्टीको उक्त क्षेत्रको क्षेत्रीय सभापति पनि हुन् । उनका मुख्य प्रतिस्पर्धीमध्ये एमालेका कृष्णकुमार राई र स्वतन्त्र उम्मेदवार छन् । राई २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।
९, कांग्रेसका ३ र माओवादीका ४ जना उम्मेदवार पहिलोपल्ट संसदीय निर्वाचनमा प्रतिस्पर्धा गर्दैकाठमाडौं–५ मा प्रदीप पौडेल कांग्रेसका नयाँ अनुहार हुन् । तनहुँका पौडेल नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष र पार्टीको १४ औं महाधिवेशनमा महामन्त्रीका प्रत्यासीसमेत थिए । उक्त क्षेत्रमा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल पनि चुनावी मैदानमा छन् । पोखरेल यसअघि सोही क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए । पटक–पटक मन्त्री भएका पोखरेल गत निर्वाचनमा एमाले–माओवादी गठबन्धनको साझा उम्मेदवार थिए । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रणयशम्शेर राणा, स्वतन्त्रबाट रञ्जु दर्शना (न्यौपाने) लगायतले पनि प्रतिस्पर्धा गर्दै छन् ।
काठमाडौं–४ मा मुख्य दलका उम्मेदवार पुरानै अनुहारका छन् । कांग्रेसका गगनकुमार थापा र एमालेका राजन भट्टराईबीच दोस्रो पटक प्रतिस्पर्धा हुँदै छ । २०७४ को निर्वाचनमा थापाले भट्टराईलाई पराजित गरेका थिए । यहाँ राप्रपाका ठाकुर मोहन श्रेष्ठलगायतका उम्मेदवार पनि प्रतिस्पर्धामा छन् । उनीहरूमध्ये धेरै नयाँ अनुहारका छन् । काठमाडौं–६ मा मुख्य दल एमालेका सर्वेन्द्र खनाल नयाँ अनुहार हुन् । उनी पूर्वप्रहरी महानिरीक्षक हुन् । खनाल र कांग्रेसका भिमसेनदास प्रधानबीच प्रतिस्पर्धा हुने अनुमान छ । प्रधान २०७४ को निर्वाचनमा पनि सोही क्षेत्रबाट निर्वाचित भएका थिए । उनी २०७० पछि मन्त्री पनि भइसकेका छन् । उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल, विवेकशील साझाका अजित खड्कालगायतका नयाँ उम्मेदवार चुनाव लड्दैछन् ।
काठमाडौं–७ मा माओवादी केन्द्रको चिह्नबाट अस्मिता सिंह (मानुषी यमि भट्टराई) नयाँ उम्मेदवार हुन् । एमालेका श्यामकुमार घिमिरे पनि नयाॅ हुन् । २०७४ मा सोही क्षेत्रबाट रामवीर मानन्धरले जितेका थिए । उनलाई एमालेले उम्मेदवार नबनाएपछि स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गरेका छन् ।
काठमाडौं–८ मा एमालेले शिव सुन्दरराज वैद्यलाई उम्मेदवार बनाएको छ । उनी नयाँ अनुहार हुन् । एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई उम्मेदवार बनाएको छ । हाम्रो नेपाली पार्टीका सुमन सायमी, राप्रपाका प्रकाश रिमाल, राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठलगायतका नयाँ अनुहार यहाँ प्रतिस्पर्धामा छन् । काठमाडौं–९ मा माओवादीबाट कल्पना धमला उम्मेदवार छिन् । उनले २०६४ को संविधानसभा निर्वाचनमा धादिङबाट संविधानसभा सदस्य जितेकी थिइन् । एमालेका कृष्णगोपाल श्रेष्ठले यहींबाट उम्मेदवारी दिएका छन् । २०७४ को निर्वाचनमा जितेका उनी मन्त्री पनि भइसकेका छन् । उक्त क्षेत्रमा राप्रपाका देवेन्द्र प्रधान, कांग्रेस बीपीका रमेश थापालगायत नयाँ उम्मेदवार छन् । साझा पार्टी नेपालका मिलन पाण्डे पनि यसै क्षेत्रका उम्मेदवार हुन् । उनी २०७४ को निर्वाचनमा प्रतिनिधिसभातर्फ उम्मेदवार बनेका थिए । त्यतिबेलाको मतपरिणामअनुसार उनी तेस्रो स्थानमा रहेका थिए ।
काठमाडौं–१० मा एमाले उम्मेदवार हिमेश केसी नयाँ अनुहार हुन् । कांग्रेसले भने राजेन्द्र कुमार केसीलाई उम्मेदवार बनाएको छ । २०७४ को निर्वाचनमा केसीले सोही क्षेत्रबाट जितेका थिए ।
ललितपुर–२ मा गठबन्धनबाट एकीकृत समाजवादीले कृष्णलाल महर्जन र एमालेले प्रेमबहादुर महर्जनलाई उम्मेदवार बनाएको छ । प्रेम नयाँ अनुहार हुन् । राप्रपाका रघुवर राज थापा, स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले पनि यहीं प्रतिस्पर्धा गर्दै छन् । ललितपुर–३ मा एमालेका अमृत खड्का र माओवादी केन्द्रकी पम्फा भूसाल उम्मेदवार छन् । भुसालले यसअघि पनि सोही क्षेत्रबाट जितेकी थिइन् । अमृत भने नयाँ हुन् । ललितपुर–१ मा एमाले र कांग्रेसका पुरानै अनुहारबीच प्रस्पिर्धा हुनेछ । कांग्रेसले उदयशम्शेर राणा र एमालेले नवराज सिलवाललाई उम्मेदवार बनाएको छ । सिलवालले यसअघि पनि सोही क्षेत्रबाट जितेका थिए । उनी पूर्वडीआईजी हुन् । राणा थोरै मतले पराजीत भएका थिए ।
भक्तपुर–१ मा भने गठबन्धनबाट माओवादीले सुनील गोठेलाई नयाँ अनुहारका रूपमा अघि सारेको छ । नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाललाई उम्मेदवार बनाइएको छ । २०७४ को निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका रूपमा निर्वाचित भएका थिए । नेककिपाको प्रभाव मानिएको क्षेत्रमा गोठेलाई कांग्रेस र एकीकृत समाजवादीको समर्थन छ । उक्त क्षेत्रमा एमालेले नवराज गेलाललाई उम्मेदवार बनाएको छ । उनी यसअघि जिसस प्रमुख थिए ।
भक्तपुर–२ मा कांग्रेसले दुर्लभ थापालाई नयाँ उम्मेदवारको रुपमा अघि सारेको छ । उनी पार्टीका जिल्ला सभापति हुन् । लामो समयदेखि विद्यार्थी राजनीतिमा संलग्न थापालाई माओवादी र एकीकृत समाजवादीको पनि समर्थन रहेको छ । यो क्षेत्रमा एमालेले महेश बस्नेतलाई उम्मेदवार बनाएको छन् । उनले २०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य जितेका थिए । एमाले पोलिटब्युरो सदस्य उनी मन्त्री पनि भइसकेका छन् ।महेश बस्नेतले भक्तपुरमा राम्रो विकास गर्नुभएको एमाले शुभ चिन्तकहरूको दावी एकातिर छ भने अर्कोतिर कांग्रेसका दुर्लभ थापा नयाँ अनुहार भए पनि गठबन्धन दल माओवादी र समाजवादी दलको सहयोगकै कारण यी दुई बीच रोचक प्रतिस्पर्धा हुने अनुमान गरिएको छ ।
Comments