इलाम — यसअघि झलनाथ खनाल र सुवासचन्द्र नेम्वाङ सँगसँगै चुनावी दौडधुपमा हिँडेको र एउटै मञ्चबाट भाषण गरेको दृश्य इलामवासीका लागि सामान्य थियो । तर यसपालि इलाममा परिदृश्य फेरिएकोछ । स्कुले सहपाठी मात्र नभएर एमालेमा दशकौं सहयात्रा गरेका खनाल र नेम्वाङ यसपालि फरक–फरक चुनाव चिह्नमा प्रतिस्पर्धा गर्दै छन् । दुवै एकअर्काको गठबन्धनविरुद्ध खुलेरै प्रकट हुन थालेका छन् ।खनाल र नेम्वाङ दुवैको घर इलामको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत पर्छ । तर खनाल २०४८ सालदेखि नै इलाम–१ बाट उठ्दै आएका छन् । यसअघिसम्म एमालेबाट प्रतिस्पर्धा गरेका खनाल अहिले एकीकृत समाजवादीका तर्फबाट गठबन्धनको उम्मेदवार छन् । एमाले उपाध्यक्ष नेम्वाङ सदाझैं इलाम–२ बाट उठेका छन् । क्षेत्र फरक परे पनि आसन्न निर्वाचनलाई शीर्ष तहका नेताद्वय खनाल र नेम्वाङको प्रतिष्ठाको लडाइँका रूपमा पनि हेर्न थालिएको छ ।खनाल प्रधानमन्त्री र नेम्वाङ सभामुख/संविधानसभा अध्यक्ष भइसकेका नेता हुन् । एकीकृत समाजवादीका सम्मानित नेता खनाल सातौं पटकको प्रतिस्पर्धामा छन् । उनले २०५६ बाहेकका सबै निर्वाचन जितेका छन् । जटिल स्वास्थ्य उपचारपछि पुनर्जीवन पाएको बताउने खनाल चुनावलाई केन्द्रित गर्दै जिल्लामा सक्रिय छन् । २०४८ सालमा राष्ट्रिय सभा सदस्य भएका नेम्वाङ भने २०५६ पछि इलाम–२ बाट चुनावी प्रतिस्पर्धा गरिरहेका छन् । उनले अहिलेसम्मका सबै चुनाव जितेका छन् ।
अघिल्लो निर्वाचनमा वाम गठबन्धनका कारण फराकिलो जित हात पारेका खनाल र नेम्वाङ दुवैलाई उस्तै नतिजा दोहोर्याउन यसपालि कठिन देखिन्छ । खनाललाई एमालेका जिल्ला अध्यक्ष महेश बस्नेतले चुनौती दिँदै छन् । स्थानीय तह निर्वाचनको मत परिणामलाई आधार मान्दा सत्ता गठबन्धन बलियो देखिए पनि संसदीय चुनावमा त्यही दृश्य नदोहोरिने जोखिमले खनालमाथि दबाब थपेको छ । स्थानीय तहको निर्वाचनपछि खनालले कांग्रेसविरुद्ध दिएको प्रतिक्रियाले कांग्रेस कार्यकर्ता रुष्ट बनेको र त्यसको असर मतपरिणाममा पर्न सक्ने आकलन पनि छ । स्थानीय चुनावमा कांग्रेस र माओवादीसँग गठबन्धन गरेको एकीकृत समाजवादीले इलाम–१ अन्तर्गतकै सूर्योदय नगरपालिकाको कार्यपालिका र जिल्ला समन्वय समिति निर्वाचनमा एमालेसँग तालमेल गरेर कांग्रेसका उम्मेदवारलाई हराउन सघाएको थियो ।
यकातिर झलनाथ खनाललाईँ सत्ता पक्ष कांग्रेसशी कार्यकर्ताबाट अन्तरघात हुने डर भएकोले उनीहरुको मन जित्नु प्रमुख चुनौति छ भने अर्कोतर्फ सुवासचन्द्र नेम्वाङ्लाईँ पनि बलियो सत्ता पक्षिय गठबन्धनभएकोले गर्दा संघिय चुनाव जित्न चुनौति थपिएको छ ।
Comments