२५ चैत्र,काठमाडौँ । हरेक वर्ष घोडे जात्राको अघिल्लो दिन आजदेखि नेवार समुदायले तीन दिनसम्म राजधानीमा ‘पाहाँचह्रे’जात्रा धुमधामले मनाउँदै छन् । नेवा: भाषामा पाहाँको अर्थ पाहुना अर्थात साथी हो । चह्रे भन्नाले लुनार (चन्द्रमास)को क्यालेन्डरअनुसार चौधौँ दिनलाई भनिन्छ ।
यस दिन बिहानै सूर्योदयभन्दा अघि उठी मध्यान्नसम्म हर्षौल्लासका साथ भद्रकाली, रक्तकाली, श्वतकाली, कङ्केश्वरी आदि पीठका देवी, भैरव, गणेश आदि देवताको दर्शन तथा पूजा गर्छन् । मानिसहरू दिउँसोदेखि बेलुकासम्म आआफ्नो घर परिवारसँग बसी विभिन्न प्रकारका खानेकुराहरू खाएर मनाउँने गर्छन् । देवी देवताहरू कुनाकानी पनि बस्छन् भन्ने जनविश्वासले मठमन्दिर भित्र र घर आँगनको कुनाकानी कसिंगर सफागर्ने परम्परा रहेको छ । यस्तो चलनले वातावरण स्वच्छतामा समेत टेवापुर्याएको छ । हरेक नेवा: चाडहरू विभिन्न ऋतुअनुसार अलगअलग विशेषता र खानेकुरासँग जोडिएर आएको हुन्छ । यो चाडको दिन खाइने मुख्य खाद्यवस्तु हरियो लसुन र कुनवु (कोइराला) हो । यो चाड सुरु भएसँगै गृष्म ऋतु सुरु हुन्छ । यो ऋतुमा गर्मीसँगै हावाहुरी सुरु हुने गर्दछ ।
पाहाँचह्रेका दिन मुख्यतया समय्बजी खाने चलन छ । यसमा चिउरा, हरियो लसुन, कुनवु (कोइराला)को अचार, बोडी, अन्डा, व:, छोइला, साग, माछा, भटमास आदि परिकार खाइन्छ । यस पर्वको पहिलो दिन बिहान विभिन्न शक्तिपीठमा पूजा गरी बेलुका भष्मासुरको डरले लुकेर बसेका महादेवलाई पूजा गरिन्छ । लुकु महाद्य:भन्दै महादेवलाई लसुन, मुलाको पहेँलो र सेतो फूल राखेर पूजा गर्ने गरिन्छ । तर कसैकसैले महादेवलाई नभएर देवीलाई पूजा गर्ने गर्दछन् । दियोमाथि चम्चामा घिउ राखेर बगाल्छन र सो कालो डडेको घिउ लगाएमा आँखा दुख्ने निको हुने जनविश्वास रहेको छ ।
पाहाँचह्रे पर्वको दोस्रो घोडेजात्राको दिन कङ्केश्वरी देवीलगायत विभिन्न शक्तिपीठका देवदेवीका मूर्तिको खटजात्रा गर्ने परम्परा रहिआएको छ । यस दिन बालबालिकालाई ८४ व्यञ्जनसहितको परिकार खुवाउँदा निरोगी हुने र भूतप्रेतले नसताउने जनविश्वास रहेको छ । आजको दिन जीवित देवी कुमारीले नेपाल एरलाइन्स कर्पोरेसनको विल्डिङबाट घोडेजात्रा अवलोकन गर्ने प्रचलन रहेको छ । आजको साँझ तीन अजिमा अर्थात भद्रकाली (लुँमरी अजिमा), कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) र टेबहाल अजिमालाई टुडिखेलमा खट जात्रा गरिन्छ । अजिमा तीन ठाउँबाट आएर असनमा भेला गराई एक आपसमा तीन फन्को घुमाइ एक अर्कालाई आदरसम्मान गरी आगो (चिराग) साटासाट गर्छन् । असनको विभिन्न ठाउँमा मरजा खुवायो चलन रहेको छ । मरजा खुवायो भने रोगव्याधि नलाग्ने जनविश्वास रहेको छ । आजको दिन दिउँसो बज्रेश्वरीको जात्रा सुरु हुन्छ भने साँझदेखि बत्सलेस्वरी र आकाश भैरवको जात्रा सुरु हुन्छ ।
हरेक वर्ष घोडेजात्राको भोलिपल्ट तीन अजिमा अर्थात भद्रकाली (लुँमरी अजिमा), कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) र टेबहाल भद्रकाली अजिमालाई आ-आफ्नो ठाउँबाट बाजा गाजासहितको टोलिले खट जात्रा गरी असनमा पुर्याएर जात्रा मनाउँने परम्परा रहेको छ । जेठी अजिमा कङ्केश्वरी (चामुण्डार कङ्ग अजिमा) भएकीले दुवै अजिमाले परिक्रमा गर्छन् ।अजिमा तीन ठाउँबाट आएर असनमा भेला गराई एक आपसमा तीन फन्को घुमाइ एक अर्कालाई आदरसम्मान गरी आगो (चिराग) साटासाट गर्छन् । रातो, निलो, पहेँलो गरी तीनवटा रङका टोपी र टी_सर्ट लगायकाहरूले खट बोक्ने गर्छन् । खट असन चोक पुगेपछि घरघरबाट चामलको रोटी अर्थात् चटामरी फाल्ने गरिन्छ । जसलाई प्रसादको रूपमा लिइन्छ । यसरी फालिएको चटामरी फेला पार्नेलाई शुभ हुने जनविश्वास रहिआएको छ । यसलाई नेवा : भाषामा ‘द्य ल्वाकेगु’ भनिन्छ । पशुपति भुवनेश्वारी (बत्सलेस्वरी)का पुजारीले सानो खटमा शिवलिंग राखी घुमाउँछन् । पाहाँचह्रेको एक हप्ता पहिल्यै नै शिवलिंगमा राखी पशुपतिबाट काठमाडौँको विभिन्न ठाउँमा घुमाइन्छ । जसले पाहाँचह्रे पर्व सुरु हुनलागेको संकेत गर्दछ । बत्सलेस्वरीलाई देवीहरूका आमाका रुपमा मानिने गरिन्छ ।
फोटो साभार : एलिना कुमारी ताम्राकार, सम्पदा अन्वेषक
Comments