१० फागुन काठमाडौँ । वि.सं. २०३६ मंसिर २५ गते शिवलाल कायस्थ र विमला कायस्थका कान्छो छोराको रुपमा यादवलाल कायस्थको जन्म भएको थियो । असनमा जन्मनुभएका कायस्थले आनन्दकुटी विद्यापीठ स्यम्भूबाट एस. एल. सी. र पब्लिक युथबाट स्नातक गरे । उनको आफ्नै घरछेउको रेष्टुरेन्ट पनि प्राचिन नेवारी सभ्यतालाई झल्को दिने खालको छ ।
काठमाडौंको नःघल थँहिटीमा हुने ३६५ दिनमा २६४ वटै बाजागाजा बजाएर आउने जात्रामा सहभागीहरूसँग खटका देवतासँगै दौडिएको स्मरण गर्छन् । उनले १० वर्ष नेपाली सेनामा जागिरे जीवन बिताएका थिए । तर एकोहोरो आदेशको भरमा बाँच्नुपर्ने जागिरे जीवन सम्पदा संरक्षण अभियन्ता यादवलाल कायस्थलाई ठीक लागेन । अन्ततः राजीनामा दिएर हिटी संरक्षण महाअभियानमा जोडिए ।
आमा सानैमा बितेकोले सम्पदाको सरसफाइ गर्दै हिँड्ने बुबासँगै उनी पनि बाल्यकालदेखि नै हिँड्न थाले । बुबाले टोलमा रहेका प्रत्येक सम्पदा (देवता र हिटी) यादवलाललाई चिनाए । बुबाको त्यही कामले उनलाई सम्पदा संरक्षण अभियन्ता बनायो । नेपाली सेनामा जागिर खाँदा शान्ति सेनामा जाने अवसर दुईपटक आउँदा पनि उनी नगएको बताउँछन् । उनले शान्ति सेनामा गएर पैसा कमाउने रहरभन्दा पनि स्वदेशको सेवा गर्ने धोकोले गर्दा सेनाबाट स्वैच्छिक अवकास लिएको देखिन्छ ।
उनीले हिटीको सात्विक अर्थ नेपाल भाषामा रगतजत्तिकै महत्वपूर्ण तरल पदार्थ भन्ने बताए । ‘हि’ को अर्थ रगत र ‘टी’ को अर्थ तरल पदार्थ अर्थात् पानी भनेको रगतजत्तिकै महत्वपूर्ण पदार्थ भन्ने अर्थले उपत्यकाका धाराका नाम नेपालभाषामा हिटी रहन गएको बताउँछन् । जुनसुकै प्राचीन नेवार बस्ती पाटन, भक्तपुर, कीर्तिपुर, मध्यपुर, टोखा, बनेपा, फर्पिङलगायतका संरचनामा हिटीलाई पनि जोडेर बनाएका थिए । यादवलाल कायस्थ यी र यस्ता ऐतिहासिक हिटी, ढुंगेधारा, इनार, कुवाको संरक्षणार्थ उत्खनन र व्यवस्थापनमा २०७३ सालदेखि अहोरात्र नि:स्वर्थ सेवाभावले हजारौँ अभियन्ताहरूसँग हातेमालो गर्दै क्रियाशील छन् ।
यस्तै समसामयिक विषयमा भूगोल पार्क डट कमले विपी स्टुडियोको “समकालिन संवाद” कार्यक्रममा “सांस्कृतिक सम्पदा जोगाउँदै नेवा: मौलिक कलासंस्कृति बचाऊ” भन्दै भगवानका मूर्ति चोरी निकासी बन्द गराउँन एवं हिटी संरक्षण गर्न भन्दै महाअभियानमा जोडिए यादवलालसँग भूगोल पार्कका समाचारदाता करुण सिंहले गरेको कुराकानीका सम्पादित अंश :
हिटी सम्पदा र मूर्ति संरक्षण कसरी गर्नुभएको छ ?
उनी हिटी सम्पदा र मूर्ति संरक्षणका अभियन्ता भएकाले तथ्यहरूलाई बुझ्ने/बुझाउने र अतिक्रमित, लोपोन्मुख ढुंगेधारालगायतका पानीका स्रोतहरूको संरक्षणमा लागिपरेका छन्, भावीपुस्तालाई नेवा: सभ्यतालाई पुस्तौँसम्म बचाएर राख्न । मण्डफल्चा भनिने सोह्रखुट्टे पाटी सडक विस्तारको क्रममा सार्दा प्राचीन ढुंगेधारा हिटीमाथि बनाउन खोजेपछि विरोधस्वरूप थालेको हिटी संरक्षण अभियानले निरन्तर गति लिइरहेको छ । उनी मुर्ति चोरी नभन्न आग्रह गर्दै भगवान चोरी भएको बताउँछन् ।
नेवारी आस्थाको नामानिशाना मेटाउनका लागि ३५० केजीका भगवानका मूर्ति मुख्य बस्तिबाट चोरी हुने गरेको भन्दै सरकार मुखदर्शक बन्नुले कतै सरकारको संल्नता त छैन् भनी आशंका व्यक्त गर्छन् । उनी नेवा: सभ्यतालाई संरक्षण गर्न तीनै तहका सरकार नलागेकोमा चिन्तित देखिन्छन् । आफूहरू भगवानको पुरानो स्वरुपमा फर्काउँनका लागि कृतिम रङरोगन हटाउँन लागि परेको बताउँछन् । हनुमान भगवानलगायत देवीदेवतालाई लड्डु मुर्तिमा नै खुवाउनाले प्राचिन स्वरुप हराउँदै गएकाले आफूहरू भोलिका पुस्ताका लागि उक्त मूर्तिहरू पुरानो स्वरुपमा फर्काउन लागि परेको बताए ।
सरकारी तवरबाट हिटी सम्पदा र मूर्ति संरक्षणमा तपाईँले सरकारबाट कस्तो सहयोग पाउँनुभएको छ ?
सिंहदरवार भित्र सबै मन्त्रालयय छन् । काठमाडौँ जिल्ला भित्रै सेना, प्रहरी, कुटनितिक नियोग आदिहरूको मुख्यालय देख्दा जोकोहीलाई लाग्न सक्छ, नेवारी सभ्यतालाई धावा बोल्दै सडक विस्तार गरिरहेका छन्। सुनधाराकै छेउमा ३ अरब ४५ करोडको खर्चमा सेतो टावर बनाएको भन्दै पूर्वप्रधानमन्त्री ओलीले गर्भ गरेकोमा दुखेसो पोख्दै विगतका सरकारले र अहिले दुवैले नेवारी सभ्यतालाई धज्जी उडाउदै विकासको नाममा विनास गरेको बताए । तीनै तहको सरकार अरबैको लगानीमा कृतिम सिमेन्टको टावर बनाउँछन् तर सांस्कृतिक सम्पदा जोगाउनका लागि ३/४ करोड पनि खर्च गर्दैन भन्छन् कायस्थ ।
चापागाउमा ४०० वर्ष पुराना भगवानको मूर्ति चोरी भएको लामो समयमा पनि सरकारले चोर समात्न नसकेकोमा दुखेसो पोख्छन् । सयौँ वर्ष पहिलाका लिच्छिवीकालिन भगवान चोरी बढ्दै जानुमा राज्य मुखदर्शक बन्दै जानुको उपज हो भन्छन् कायस्थ । आफूहरूले खोज अनुसन्धान गरी प्रहरी पुरात्तव विभाग, संस्कृति मन्त्रालयमा बुझाए पनि अझैँ वेवारिसे हुनु राज्यको कम्जोरी बताउछन् । उनले आस्थाका धरोहर भगवानको मूर्ति चोरी हुनु, हिटी सम्पदा नाश हुँदैजानु आदि कारणले गर्दा भगवान प्रति आस्था घट्दै गएर एवं पश्चिमा संस्कृतिअनुसारका धर्म संस्कृति जीवनशैली भेषभुषा आदि घटेकै कारण डिप्रशनका रोगी बढ्दै गएको बताए ।
कसको प्रेरणाले हिटी सम्पदा र मूर्ति संरक्षणमा लाग्नुभयो ?
बुबाको प्रेरणा एवं भगवानप्रति विश्वासले गर्दा हिटी सम्पदा र मूर्ति संरक्षणमा लागेको बताए । साथै काठमाडौं महानगरपालिका वडा–१६ ले थालेको ढुंगेधारा विस्थापनलाई तत्कालीन सभासद वसन्त मानन्धरलाई भनेर अर्कै ठाउँमा सोह्रखुट्टे पाटी सार्न लगाएपछि कायस्थलाई पनि लाग्यो, राजनीतिक नेतृत्वलाई बुझाउन र स्थानीय जनतालाई जागृत गर्न सके हिटी सम्पदाको संरक्षण गर्न सकिँदो रहेछ । लगत्तै स्थानीय बासिन्दाकै पहलमा स्वयम्भू किमडोल र काठमाडौंको नाउँ राख्न सफल येङगा हिटीलाई राणाकालीन दरबारको कम्पाउण्डभित्रबाट सार्वजनिक गर्न पहिलोपटक नेपाली सेनाले सहभागिता जनाएपछि लाग्यो, सेना प्रहरीलाई पनि आग्रह गर्यो भने सम्पदा संरक्षण गर्न सकिँदो रहेछ भन्ने लागेर आफू यस क्षेत्रमा लागेको बताए ।
सम्बन्धित निकायलाई अतिक्रमित ढुंगेधारा र देवीदेवताका मूर्ति कति बुझाउनुभयो ?
काठमाडौंको सोह्रहिटी (तीनधारा पाठशाला) को अतिक्रमित ढुंगेधारा र देवीदेवताका मूर्तिसहित कायस्थले तीन दर्जनभन्दा बढी हिटी उत्खनन र १५० भन्दा बढी मूर्ति संरक्षणार्थ सम्बन्धित निकायमा दिइसकेका छन् । स्थानीय तह, पुरात्तव विभाग, संस्कृति मन्त्रालयलगायतको समन्वय गरी सम्पदा संरक्षण गर्ने उनको अभियान जारी छ । यस अभियानमा कायस्थलगायत जति पनि जोडिएका छन्, सबैले स्वयंसेवकको रूपमा सम्पदा संरक्षणका लागि काम गरिरहेका छन् । अभियानमा नजोडिए पनि अपमान भने नगरे आफूहरूको मनोवल बढ्ने उनको भनाइ छ ।
वि.सं. २०७३ देखि हालसम्म यस अभियानका लागि कसैसँग चन्दा वा कुनै शुल्क नलिएको उनी बताउँछन् । उनी “अभियन्ताहरू सम्पदा संरक्षणका लागि आफूखुसी जोडिन्छन् । काम गर्दा खाजासमेत आफ्नो गोजीको खर्चले खान्छन् । त्यसो त हिटी उत्खननका लागि आर्थिक सहयोग गर्छु भन्नेहरूको कमी छैन । तर पैसा लिएर सम्पदा संरक्षण गरिन्न, पैसासँग त झगडा, अविश्वास जोडिन्छ । त्यही कारण आर्थिक सहयोग नलिने अभियानको लक्ष्य छ” बताउँछन् ।
सम्पदा संरक्षणको अभियान कमाउने माध्यम हुँदै होइन । यस अभियानले पुरिएको ढुंगेधारा उत्खननका साथै चोरिएका मूर्तिहरू फेला परेर पनि प्रहरी चौकीमा अलपत्र रहन गएकोमा दुखेसो पोख्छन् । तैपनि त्यस्ता सम्पदाको सम्बन्धित ठाउँमा लगेर व्यवस्थापन गर्ने काम पनि सँगसँगै पहल गरिरहेको कायस्थ बताउँछन् ।
ढुंगेधारा र मूर्ति
यादवलाल कायस्थको दृष्टिकोणमा आधुनिक प्रविधिबाट वितरण हुने धाराको पानी खासै हाम्रा पुर्खाले निर्माण गरी छोडेको हिटीजस्तो वैज्ञानिक प्रविधियुक्त हुँदैन । त्यही कारण हिटीलाई ढुंगेधारा भन्न नहुने उनको तर्क छ । किनभने धारा मुहानको पानी सीधै पोखरीमा जम्मा गरी घर–घरमा वितरण गरिन्छ । त्यही पानीलाई ढुंगेधारा बनाएर पानी वितरण गर्दा ढुंगेधारा भन्नु उचित हो । मुहानको पानीलाई प्राकृतिक रूपमा नै बगाएर ठाउँ–ठाउँमा फि अर्थात् बालुवा, गठचा, हाकुचाजस्ता ६५ प्रकारका माटोमार्फत छानेर धारासम्म पानी पुर्याइन्छ ।
त्यसैले फिल्टर सिस्टमलाई अप्रेसन गरेर जन्माएको बच्चाजस्तै भन्न सकिन्छ । उनी प्रविधिको उच्चतम प्रयोग भन्दै हस्पिटलमा नै कृतिमरुपमा साहित हेरेर बच्चा जन्माउँनु एवं बृद्धहरूलाई हस्पिटलमा मृत्यु गराउँनु एउटै बताउँछन् । नेपालमा विशेषगरी प्राचीन नेवार बस्तीहरूमा निर्मित हिटीलाई प्राकृतिकरूपमा नै जन्माएको सन्तानजस्तै भन्न सकिन्छ । नेपाली हिटी परम्परा विश्वकै नमूनायुक्त वैज्ञानिक प्रविधि भएकोले यसको संरक्षण राज्यबाटै हुनुपर्ने अभियन्ता कायस्थको भनाइ छ ।
हिटी संरक्षण अभियान
अभियानकै पहलमा कामपा–२ का वडाध्यक्ष राजेन्द्रकुमार श्रेष्ठले हिटीलाई प्राचीन परम्पराअनुसार निकास मुहानको खोजी गरी कलात्मक ढंगमा पुनर्निर्माण थाल्ने प्रतिबद्धता जनाएका छन् । त्यसैगरी अभियानले कतै आफैंले खोजेर त कतै स्थानीय बासिन्दाको पहलमा सहभागिता जनाउँदै हालसम्म तीन दर्जनभन्दा बढी ढुंगेधारा उत्खनन, संरक्षण र व्यवस्थापन गरिसकेका छन् ।
काठमाडौँका मेयर बालेनले न्युरोड क्षेत्रको पार्किङ्ग हटाएको विरोध किन त्यहाँका वडाध्यक्षले गरेका होलान ?
काठमाडौँका मेयर बालेनले मेयर हुनुभन्दा पहिले आफूसँग नेपाल भाषा र सभ्यताको बारेमा कुराकानी गर्ने गरेको स्मरण गराउँदै मेयर बालेनले नेवा: कलासंस्कृति जोगाउन र उत्खनन गर्न सहयोग नगरेको बताए । त्यहाँका रैथाने नेवारहरूको सवारी साधनमा समेत प्रवेश निषेध गरेकोमा दुखेसो पोखे । उनी आफूहरू अव्यवस्थित पार्किङ्ग हटाउनुपर्छ भन्ने भित्रको भए पनि रैथाने नेवारहरूको सवारी साधनमा प्रवेश निषेध गर्ने, भजनकृतण गर्ने मण्डली भत्काएर बाटो बिस्तार गर्ने गरेकोमा विरोध गरेको बताए ।
रैथाने नेवार समूदायलाईँ सवारी निषेध गरेको ठाउँबाट गाडी रोके पनि रिक्सा ठेलागाडामा सामान ओसारपसार गर्न दिनुपर्ने बताउछन् । उनी आफूले पनि विगतमा “फ्रि भेहिकल जोन” का लागि पहल गरेको तर आफूहरूसँग सरसल्लाह नै नगरी विकल्प वेगर न्यूरोड, असन, हनुमानढोका आदि ठाउँमा प्रवेश निषेध गरेकोमा विरोध जनाउँदै काठमाडौँका कैयौँ अन्य ठाउँमा पिच सडक र ढुङ्गामाथि नै सवारी पार्किङ्ग हुने गरेपनि महानगर मुखदर्शक बनेको बताए ।
पूर्व मेयर विद्यासुन्दर शाक्य र हालका मेयर बालेनमध्ये कसले सम्पदा संरक्षण राम्रो गर्नुभएको पाउँनुभयो ?
हालका मेयर बालेनमले भन्दा पूर्व मेयर विद्यासुन्दर शाक्यले सम्पदा संरक्षणमा अतुलनीय योगदान दिएका थिए । तर पनि उनले गरेको कामको मिडिया कभरेज नभएको बताउँदै मेयर बालेनको मिडिया र फेसबुकमा चर्चाका लागि काम गर्ने गरेको आफूले पाएको बताए । मेयर बालेनको सम्बन्धमा आफूसँग विगतमा सहकार्य गरेपनि अहिले नगरेको र आफू पनि पैसाको लागि मेयर बालेनसँग नझुक्ने बताए । उनले मेयर बालेनलाईँ गुण र दोषको आधारमा समर्थन र विरोध गर्ने बताए ।
उनी देशको पहिचानलाई नष्ट गरेर आर्थिक कान्ति गर्नुभन्दा सांस्कृतिक क्रान्ति गरेर विश्वलाईँ सदिऔँ पहिलादेखिको नेपालको धर्मसंस्कृति र सम्पदाहरूको संरक्षणमा गर्न सकेमात्र पर्यटन प्रर्वधनमा टेवा पुग्ने बताए ।उनले काठमाडौँका रैथाने कुकुरको भाविपुस्ता र उपत्यकाको मौलिक पहिचान संरक्षण गर्न मार्न नहुने भए पनि महानगरले बेलाबखतमा मार्ने गरेकोमा असन्तुष्टि व्यक्त गरे । पश्चिमाहरूको सिको गर्दै विदेशी कुकुर पाल्नमा गर्व गर्ने शिक्षित वर्ग देखेर अचम्म लागेको बताए ।
नेपाल भाषाको विकासमा किन लाग्नु भएको छ ?
उनले हामीले बोल्ने र लेख्नेभाषा नेपाली हिन्दी भाषासँग मिल्दो जुल्दो भएकाले विश्व सम्पदामा सूचिकृत भाषा रञ्जना लिपिको नेपाल भाषा हुनुपर्ने बताए । नेपाल देशको पहिचान झल्काउँने नेवारी भाषामात्र भएको बताए । तर आफूहरूले नेवारी भाषामा कुरा गर्दा जातिवादीको विल्ला लगाएकोमा दुखेसो पोखे ।
हनुमानढोकाको कालभैरव अगाडि २०१५ सालमा बनेको प्रहरी चौकी किन हटाउन भन्नुभएको होला ?
भुकम्पको दृष्टिकोणबाट पनि बस्न नहुने प्रहरी चौकी नहटाउँने तर जनताले बर्षौँको कमाई वा बाचुनजेलको कमाईबाट बनाएको घर भत्काउने गरेको बताए । त्यो प्रहरी चौकीले विश्व सम्पदालाई गिजाइरहेकाले अविलम्ब भत्काउनु पर्ने बताउँदै सम्बन्धित निकाएको ध्यान बेलैमा नगए जनताले नै सो प्रहरी चौकी भत्काउने बताए ।
Comments