फ्रान्सलाई पेनाल्टीमा ७-६ ले हराउँदै अष्ट्रेलिया सेमिफाइनलमा

Bhugolpark

२८ श्रावण, २०८०,१०:४९

साउन २७,काठमाडौं । फ्रान्सलाई पेनाल्टीमा हराउँदै सह-आयोजक अष्ट्रेलिया फिफा महिला विश्वकप २०२३ को सेमिफाइनलमा प्रवेश गरेको छ ।

ब्रिसबनमा भएको प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा अष्ट्रेलियाले पेनाल्टीमा फ्रान्सलाई ७-६ ले हरायो । अष्ट्रेलिया पहिलो पटक महिला विश्वकपको सेमिफाइनलमा पुगेको हो ।

निर्धारित ९० मिनेट र ३० मिनेटको अतिरिक्त समयमा दुवै टिमबाट गोल नभएपछि खेल पेनाल्टीसुटआउटमा पुगेको थियो ।

सुटआउटमा दुवै टिमले १०-१० पेनाल्टी प्रहार गरेका थिए । तर अष्ट्रेलियाका कोर्टनी भिनले प्रहार गरेको अन्तिम पेनाल्टी जितका लागि निर्णायक बन्यो । त्यसअघि फ्रान्सकी भिक्की बेहकोको प्रहार पोष्टमा लागेर फर्केको थियो ।

अष्ट्रेलियाकी गोलकिपर म्याकन्जी आर्नोल्डले ३ पेनाल्टी प्रहार बचाइन् । तर उनै आफैँ भने गोल गर्न असफल रहिन् ।

इङ्ग्ल्यान्डले कोलम्बियालाई २–१ ले हरायो

पहिलो पटक क्वाटरफाइनल खेलिरहेको कोलम्बियाका लागि ४४ औं मिनेटमा सान्तोषले अग्रता दिलाएकी थिइन् । तर, कोलम्बियाकी गोलरक्षक क्याटलिना पेरेजले बल नियन्त्रण गर्न नसकेको अवस्थामा इङ्ग्ल्यान्डबाट लाउरेन हेम्पले पहिलो हाफको इन्ज्युरी समयमा बराबरी गोल फर्काइन् । दोस्रो हाफमा एलेसिया रुसोले गरेको आरामदायी गोलमा इङ्ग्ल्यान्ड विजयी भएको हो ।

इङ्ग्ल्यान्ड र अस्ट्रेलिया नै बुधबार विश्वकप सेमिफाइनलमा भिड्नेछन् । अर्को सेमिफाइनल स्पेन र स्विडेनबीच मंगलबार हुने भएको छ ।


358 Views

Comments