गठामुंग पर्व नेवार समुदायले हिजो धुमधामले  मनाए

Bhugolpark

३१ असार, २०८०,१२:२९

असार ३१,काठमाडौँ । साउन कृष्णपक्ष घण्टाकर्ण चतुर्दशीको अवसरमा शनिबार काठमाडौँ उपत्यकालगायत देशका विभिन्न भागमा बसोबास गर्ने नेवार समुदायले घर शान्तिको कामना गर्दै घण्टाकर्णको पूजा गरी धुमधामले गठामुंगः पर्व हिजो धुमधामले मनाए ।

यो पर्वमा आफ्नो गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोग व्याधि नलागोस् भनेर घरघरबाट भूतप्रेतसमेत मन्छाउँछन् । घरलाई चोखो बनाएपछि नेवार समुदायले बौ वाय् ज्या (भूत मन्छाउने कार्य) गर्दछन् । काँचो माटोको सानो दहीको कटारो वा सलीचा (एक प्रकारको माटोको भाँडो)मा चिउराको ढुटो, जाँडको कट, लसुन, रातो खुर्सानी, कालो भटमास, रङ्गीविरङ्गी ध्वजा, सिन्कामा कपडा बेरेर बनाएको बत्ती बालेर टोल बाहिरको देबाटो वा चौवाटोमा लगेर राख्ने प्रचलनलाई बौ वाय् ज्याअर्थात् भूत पन्छाउने कार्य भनिन्छ ।

बौ वाय् ज्यासँगसँगै घरघरको मूल ढोका र मुख्य निदालमा पञ्चरङ्गी मयूरको प्वाँख र तिन खुट्टे फलामको किला ठोक्छन् । यसले घरमा भूत प्रेत पस्न सक्दैन भन्ने जनविश्वास रहेको छ । घरका साना केटाकेटीलाई फलाम वा तामाको औँठी लगाइदिने चलन पनि रहेको छ । वयस्क युवतीले घण्टाकर्णको दिन विशेष गरी खुट्टामा विभिन्न प्रकारका टाटु खोप्ने प्रचलन पनि रहेको छ ।

त्यसैगरी साँझ पख घरघरबाट छ्वाली प्वाः वायगु ज्या (छ्वालीको मुठा बालेर देबाटोमा फाल्ने कार्य) गर्दछन् । छ्वालीको मुठामा कर्कलो, सिस्नो, मकैको घोगा, आरुको बोटको हाँगा, धुँ स्वाँ र बौ स्वाँ नामको विशेष प्रकारको फूलसमेत राखेर सो छ्वालीको मुठालाई बालेर घरको माथिल्लो भागदेखि तल्लो भाग छिँडीसम्म परिक्रमा गराई छ्वास वा दोबाटोमा लगेर सेलाउने गरिन्छ । यसअघि घरका सम्पूर्ण झ्याल ढोकाको कुनाको माटो झिकेर सो माटो झिकेको सानो प्वालमा जौ, तोरीको गेडालगायतका वस्तु राखेर गोबरले लिप्ने प्रचलनसमेत रहेको छ ।

घण्टाकर्ण पर्वकै अवसरमा टोलवासीले नर्कट र छ्वालीको मानवाकृतयुक्त राक्षसको प्रतिक बनाई चोक चोकमा ठड्याएर राख्छन् । सँगसँगै एक व्यक्तिलाई पनि राक्षसको प्रतीक बनाई जगातअर्थात् पैसा उठाउन लगाइने परम्परा रहेको छ । साँझ पख सो राक्षसको प्रतीक स्वरुपको नर्कट र छ्वालीको मानवाकृतलाई विभिन्न बाजागाजाका साथ नजिकको खोला, चौबाटो र नगरबाहिर लगेर जलाउँछन । यसरी जलाउन लैजाँदा बाजागाजाको तालमा अश्लिल शब्द प्रयोग गर्दै गीत गाउँदै जाने प्रचलन रहेको छ ।

नेवार समुदायमा घण्टाकर्ण पर्व प्राचीन इतिहासकालदेखि प्रचलनमा रहेको इतिहासविद् एवं संस्कृतिविद् डा पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन् । काठमाडौँ उपत्यकामा करिब दुई हजार वर्षअघिदेखि यो पर्व मनाउनाउँदै आएको उहाँले बताउनुभयो । यस पर्वले मानिसमा भएको नकारात्मक सोच र व्यवहार परिवर्तन गर्न उत्प्रेरणा मिल्ने र व्यक्ति, परिवार, समाज र देशमा शान्तिको कामना गर्ने पर्वको रुपमा समेत लिने गरेको संस्कृतिविद् डा श्रेष्ठको भनाइ छ ।

प्रचलित किंवदन्तीअनुसार कानमा घण्टा झुण्ड्याएर हिँड्ने बडेमानको शरीर भएका राक्षसको पूजा गर्ने भएकाले यसलाई घण्टाकर्ण पर्व भनिएको हो । घण्टाकर्णलाई शिवको प्रतीकको रुपमा पनि लिइन्छ । घण्टाकर्ण शिवका परम भक्त थिए । उनी शिवको बाहेक अन्य देवीदेवताको नाम समेत सुन्न मन पराउँदैनथे । सोही कारण उनी कानमा घण्टा झुण्ड्याएर हिँड्ने गर्देथे भन्ने किँम्वदन्ति रहेको छ ।

Photo Credit: Alina Kumari Tamrakar


202 Views

Comments