भुटानी शरणार्थी प्रकरणमा मिडिया ट्रायल भयो, निष्पक्ष अनुसन्धान होस् : कांग्रेस

Bhugolpark

२ जेष्ठ, २०८०,१४:३८

जेष्ठ २, काठमाडौं । नेपाली कांग्रेसले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष र स्वतन्त्र हुनुपर्ने बताएको छ । साथै यस प्रकरणका कुनै पनि दोषी उम्कन नहुने र निर्दोष व्यक्तिलाई जबर्जस्ती फसाउने काम कतैबाट हुन नहुने कांग्रेसको भनाइ छ । कांग्रेस प्रवक्ता एवं अर्थमन्त्री डा प्रकाशशरण महतले आज यहाँ पत्रकार सम्मेलन गरी सो प्रकरणबारेमा पार्टीको धारणा स्पष्ट पार्दै निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने र यसमा पार्टीको सहयोग रहने स्पष्ट पार्नुभयो ।

उहाँले सामाजिक सञ्जाल एवं कतिपय मिडियामा ‘मिडिया ट्रायल’ पनि भइरहेको आफूले पाएको भन्दै निर्दोष व्यक्तिलाई पनि दोषी देखाउने प्रयत्न भएकोप्रति खेद प्रकट गर्नुभयो । कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य डा आरजु राणा देउवाको हालसम्म सो प्रकरणमा कुनै पनि दोष नदेखिएको र प्रमाण समेत नपाइएको अवस्थामा पनि सामाजिक सञ्जालमा ‘फेक अडियो’ बनाएर केही व्यक्तिले उहाँको बदनाम गर्न खोजिरहेको तथा यस्तै प्रकृतिका समाचारहरू कतिपय सञ्चारमाध्यममा आएको प्रवक्ता डा महतको भनाइ थियो ।

सांसद डा राणाले आफ्नो बदनाम गर्न फेक अडियो बनाउनेलाई काराबाहीका लागि प्रहरीसमक्ष निवेदनसमेत दिइसकेको जानकारी गराउँदै प्रवक्ता डा महतले भन्नुभयो, “उहाँले फेक अडियो बनाउनेलाई कारबाही गर्न उजुरी गर्नुभएको छ । तर अहिले सामाजिक सञ्जालबाट ट्रायल गरेर दोषीझैँ व्यवहार भइरहेको देखिएको छ । यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । अडियो झुटो हो भन्ने हाम्रो पूर्ण विश्वास छ ।” सोही प्रकरण अनुसन्धानका क्रममा प्रहरी हिरासतमा पर्नुभएका कांग्रेस नेता बालकृष्ण खाणले आफू निर्दोष छु, सावित गर्छु, भनेकाले पार्टीले निलम्बन नगरेको पनि उहाँले स्पष्ट गर्नुभयो ।

यस प्रकरणमा पार्टी सभापति किन मौन भन्ने प्रश्नको जवाफमा उहाँले भन्नुभयो “पार्टी सभापति शेरबहादुर देउवाले पनि सो प्रकरणमा निष्पक्ष र स्वतन्त्र अनुसन्धान हुनुपर्ने बताउँदै आउनुभएको छ, तपाईंहरुलाई थाहै छ उहाँको कम बोल्ने बानी छ, कांग्रेसको स्पष्ट धारणा पनि यही हो कि यस प्रकरणको निष्पक्ष र स्वतन्त्र छानबिन हुनुपर्छ”, प्रवक्ता डा महतले बताउनुभयो ।



362 Views

Comments