चितवन-२ मा रवि लामिछाने ३४ हजार २ सय ८१ बढी मतान्तरसहित विजयी
वैशाख १३,चितवन । नवगठित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने चितवन-२ बाट भारी मतान्तरसहित प्रतिनिधिसभा सदस्यमा विजयी भएका छन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठको ११ हजार २१४ मत ल्याएका छन् । त्यसैगरी नेकपा एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत ल्याएका छन् । यहाँ कुल मतदाता एक लाख २४ हजार २१४ रहेकोमा आइतबार भएको मतदानमा कुल ७८ हजार २७७ मत खसेको थियो ।
गत मंसिर ४ मा भएको निर्वाचनमा ८४ हजार ३१५ मत खस्दा रवि लामिछाने ४९ हजार २९६ मत ल्याएर विजयी भएका थिए । अघिल्लो निर्वाचनमा भन्दा कम मत खसे पनि लामिछानेले मत र मतान्तर बढी आएको हो । पहिलेभन्दा खसेको मत कम भएपनि यसपटक लामिछानेले भने पहिलेभन्दा ४ हजार ९१२ मत बढाएका छन् ।
कांग्रेस र एमालेले भने पहिलेकै मत समेत जोगाउन सकेनन् ।
मंसिर ४ को आम निर्वाचनमा लामिछानेले ४९ हजार २६१ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी सत्तारूढ गठबन्धनका तर्फबाट उम्मेदवार रहेका उमेश श्रेष्ठको १४ हजार ९ सय ८३ मत आएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताएका थिए ।
एमाले उम्मेदवार कृष्णभक्त पोखरेलको १४ हजार ६ सय ४७ मत आएको थियो । कृष्णभक्त पोखरेल ७४ सालको निर्वार्चनमा निकटतम् प्रतिस्पर्धी कांग्रेसका शेषनाथ अधिकारीभन्दा १७ हजार ३५६ मत बढी ल्याएर चितवन-२ बाटै प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए ।
बारा-२ मा जसपा अध्यक्ष उपेन्द्र यादव विजयी
यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए ।
वैशाख १३,बारा — प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा बारा-२ बाट जनता समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपेन्द्र यादव विजयी भएका छन् । यादवले निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्रप्रसाद कुशवाहालाई ५ हजार ८१ मतले पराजित गरेका हुन् ।
जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोजकुमार चौधरीका अनुसार विजयी उम्मेदवार यादवले २८ हजार ४ सय १५ मत पाउँदा कुशवाहाले २३ हजार ३ सय ३४ मत पाए । त्यस्तै तेस्रो स्थानमा रहेका एमालेका पुरुषोत्तम पौडेलले १० हजार २ सय १६ मत प्राप्त गरेका छन् ।
पूर्वडीआईजीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल भने प्रतिस्पर्धामा पछि रहे । उनले २ हजार ८ सय २९ मत मात्र प्राप्त गरेका छन् । उनीपछि रहेका आम जनता पार्टीका उम्मेदवार अरुणकुमार ज्ञवालीले २ हजार ७ सय ३८ मत प्राप्त गरेका छन् ।
त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार सोनालाल साहले ११९ मत प्राप्त गरे । नागरिक उन्मुक्ति पार्टीका कमरुल्लाह अन्सारीले १ सय ९ मत पाउँदा नेपाल मजदुर किसान पार्टीका उम्मेदवार मुक्ति यादवको पोल्टामा ६० मात्रै मत पर्यो ।
बारा-२ मा कुल ६९ हजार १ सय ७ मत खसेको थियो ।बारा-२ मा मुख्य प्रतिस्पर्धामा रहेका ५ उम्मेदवारमध्ये ४ जना यसअघि मंसिर ४ मा पराजित उम्मेदवार हुन् । उपेन्द्र यादव सप्तरी-२ मा जनमत पार्टीका अध्यक्ष सीके राउतसँग पराजित भएका थिए
शिवचन्द्र प्रसाद कुशवाहा र अरुणकुमार ज्ञवाली बारा-२ बाट पराजित उम्मेदवार हुन् भने रमेश खरेल भने काठमाडौं-१ मा पराजित भएका थिए । कुशवाहा मंसिर ४ मा माओवादी केन्द्र र ज्ञवाली स्वतन्त्र उम्मेदवार बनेका थिए । खरेल भने नेपाल सुशासन पार्टीबाट उठेका थिए । उनी अहिले पनि उक्त पार्टीका अध्यक्ष हुन् ।
यसअघि बारा-२ का प्रतिनिधिसभा सदस्य रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि यस क्षेत्रमा उपनिर्वाचन भएका थिए । मंसिर ४ को निर्वाचनमा यादवले कुशवाहालाई ३ सय ५४ मतले हराएका थिए । यादव १३ हजार ८ सय २२ मत ल्याएर विजयी भएका थिए ।
स्वर्णिम वाग्ले करिब १५ हजार बढी मत ल्याएर विजयी
वाग्लेले कुल सदर मतको ५२%, गोविन्द भट्टराईले ३०% एवं सर्वेन्द्र खनालको मत १३ %पाए।
१३ वैशाख, तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।
निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१९ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।
नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।
निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।
तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो। वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्। दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ।
गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो। मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए। त्यति बेला एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए।
वाग्लेले गत चैत १५ गते कांग्रेस छाडेको घोषणा गरेपछि त्यसै दिन राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई तनहुँ-१ बाट उम्मेदवार बनाएको थियो। उनले कांग्रेस छाड्दा सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणाका कारण पार्टी छाड्नुपरेको गुनासो पोखेका थिए।
गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनले स्नातक तहको अध्ययन बिएस्सी (इकोनोमिक्स) लन्डन स्कुल अफ इकोनोमिक्सबाट गरेका थिए भने विद्यालय स्तरको पढाइ काठमाडौंको बुढानिलकन्ठ स्कुलबाट पूरा गरेका थिए।
भूगोल पार्कको तर्फबाट वैशाख १० गते भएको प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा चितवन-२ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सभापति रवि लामिछाने, बारा-२ मा निर्वाचित जसपा अध्यक्ष उपेन्द्र यादव एवं तनहुँ क्षेत्र नम्बर १ मा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेलाईं हार्दिक बधाईं एवं उहाँहरूको कार्यकालमा देशले आर्थिक समृद्धि हासिल गर्न सफलताको भनि शुभकामना व्यक्त गर्दछौं।
Comments