तनहुँ क्षेत्र नम्बर १ मा स्वर्णिम वाग्ले करिब १५ हजार बढी मत ल्याएर विजयी

Bhugolpark

१२ बैशाख, २०८०,०६:३१

वाग्लेले कुल सदर मतको ५२%, गोविन्द भट्टराईले ३०% एवं सर्वेन्द्र खनालको मत १३ %पाए।

१२ वैशाख, तनहुँ । प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्ले भारी मतले विजयी भएका छन् ।

निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराई भन्दा १४ हजार ७ सयभन्दा बढी मत ल्याएर उनी विजयी भएका हुन् । वाग्लेले ३४ हजार ९१९ पाउँदा भट्टराईले २० हजार १२२ मत पाएका छन् । वाग्लेले भट्टराईभन्दा १४ हजार ७९६ मत बढी ल्याएका छन् ।

नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल ८ हजार ४८८ मत पाउँदै तेस्रो भए । राप्रपाकी शोभा गुरुङले २१८ र मंगोल नेशनल अर्गनाइजेसनका प्रेमबहादुर थापाले १६६ मत पाएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयले मत परिणामको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

तनहुँ-१ मा १ लाख २३ हजार ३ सय ५ जना मतदाता छन्। आइतबार भएको उपनिर्वाचनमा ६५ हजारभन्दा बढी मत खसेको थियो। वाग्लेले कुल सदर मतको ५२ प्रतिशतभन्दा बढी हासिल गरेका छन्। दोस्रो स्थानमा रहेका भट्टराईले ३० प्रतिशत मत ल्याएका छन् भने खनालको मत प्रतिशत १३ छ।

गत मंसिर ४ को आमनिर्वाचनमा तनहुँ-१ मा कांग्रेसबाट रामचन्द्र पौडेल निर्वाचित भएका थिए। उनी राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन गरिएको हो। मंसिरको निर्वाचनमा पौडेल २५ हजार ३ सय ६१ मत प्राप्त गरेर विजयी भएका थिए। त्यति बेला एमालेका एकबहादुर राना मगरले १९ हजार ९ सय ८१, स्वतन्त्र उम्मेदवारी दिएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गरेका थिए।

वाग्लेले गत चैत १५ गते कांग्रेस छाडेको घोषणा गरेपछि त्यसै दिन राष्ट्रिय स्वतन्त्र पार्टीले उनलाई तनहुँ-१ बाट उम्मेदवार बनाएको थियो। उनले कांग्रेस छाड्दा सभापति शेरबहादुर देउवा र उनकी श्रीमती आरजु राणाका कारण पार्टी छाड्नुपरेको गुनासो पोखेका थिए।

गोरखामा जन्मेका वाग्लेले अमेरिकाको हार्वर्ड विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय विकासमा स्नातकोत्तर र अस्ट्रेलियन नेसनल युनिभर्सिटीबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका छन्। उनले स्नातक तहको अध्ययन बिएस्सी (इकोनोमिक्स) लन्डन स्कुल अफ इकोनोमिक्सबाट गरेका थिए भने विद्यालय स्तरको पढाइ काठमाडौंको बुढानिलकन्ठ स्कुलबाट पूरा गरेका थिए।



202 Views

Comments