उपनिर्वाचनको आचारसंहिता लागू

Bhugolpark

२४ चैत्र, २०७९,०८:४३

२४ चैत, काठमाडौं । आगामी बैशाख १० गते उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबार (आज)देखि निर्वाचन आचारसंहिता लागू भएको छ ।

 ‘वैशाख १० गते हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि निर्वाचन आयोले निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी चितवन, बारा र तनहुँ जिल्लाभर देहायका व्यक्ति, निकाय तथा अधिकारीलाई संवत् २०७९ साल चैत २४ गतेदेखि निर्वाचन सम्पन्न नभएसम्मका लागि निर्वाचन आचारसंहिता, २०७९ को सम्पूर्ण व्यवस्था लागू गर्ने निर्णय गरेको छ,’ उनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

चितवन क्षेत्र नम्बर–२, बारा–२ र तनहुँ–१ मा उपनिर्वाचन हुँदैछ । आचारसंहिता ती तीन जिल्लामा मात्र उपनिर्वाचन सम्पन्न नभएसम्मका लागि लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचन आयोगले मन्त्रीहरू, उपनिर्वाचनका उम्मेदवार, मतदाता, संवैधानिक निकायका पदाधिकारी, कर्मचारी, सुरक्षाकर्मी, स्थानीय कार्यपालिकाका सदस्य, शिक्षक, निजी तथा गैर सरकारी संस्थाका पदाधिकारी र कर्मचारी, विकास साझेदार संस्था लगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।


392 Views

Comments