पूर्वपश्चिम हिँडेका सयौं गाडी महेन्द्र राजमार्गमा अलपत्र

Bhugolpark

७ चैत्र, २०७९,१२:३६

७ चैत,काठमाडौं।पूर्वी नवलपरासी महेन्द्र राजमार्गअन्तर्गत पूर्वी नवलपरासीको ४० किलोमिटर भन्ने स्थानमा १२ घण्टादेखि राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार महेन्द्र राजमार्ग फराकिलो पार्ने क्रममा निर्माण गरिएको डाइभर्सन भास्सिएका कारण गएराति साढे १० बजेबाट राजमार्ग अवरुद्ध भएको हो ।

महेन्द्र राजमार्ग हुँदै पूर्वपश्चिम हिँडेका सवारी साधन चोरमारा र डन्डामा अलपत्र परेका छन् । महेन्द्रराजमार्गको चोरमारा र कावासोतीको बिचमा पर्ने ४० किलोमिटर भन्ने स्थानमा राजमार्ग बिग्रिएको हो । सडक बनाएर राजमार्ग सुरु गर्न हिलैहिलो भएका कारण नसकिएको प्रहरीको भनाइ छ ।

‘यो क्षेत्रमा गएराति वर्षात् भएको थियो । राजमार्ग खुलाउन जेसीभी र स्काभेटर मगाइएको छ,’ प्रहरीले भन्यो । निर्माणाधीन सडक हिलैहिलो भएकाले त्यस क्षेत्रमा आवतजावतमा कठिनाइ भएको छ । राजमार्ग बिग्रिएको स्थान जंगलमा पर्दछ ।

चोरमारा प्रहरी चौकीका अनुसार बिग्रिएको ठाउँमा ग्राइभेल हाल्न जामका कारण सकिएको छैन ।


256 Views

Comments