२५ फागुन,काठमाडौँ।राष्ट्रपति छान्न बिहीबार भएको निर्वाचनको मतगणना सुरू भएको छ। काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो ४ बजेदेखि मतगणना सुरू भएको हो।
भूगोल पार्कको प्रक्षेपणमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारी मतान्तरले राष्ट्रपतिमा निर्वाचित हुने छन्।
मगणनाको अन्तिम परिणाम केही घन्टाभित्रै सार्वजनिक हुने निर्वाचन आयोगले जनाएको छ।
बिहान १० बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजे सकिएको थियो।
संघीय सांसद र प्रदेश सभाका सांसदहरूले खसालेको मत फरक-फरक स्थानमा गणना भइरहेको छ।
गणनामा राष्ट्रपतिका उम्मेदवारका एक/एक जना गणना प्रतिनिधि छन्। कांग्रेस उम्मेदवार रामचन्द्र पौडेलको तर्फबाट रमेश लेखक र एमालेका उम्मेदवार सुवास नेम्वाङको तर्फबाट महेश बर्तौला प्रतिनिधि बसेका छन्।
निर्वाचन आयोगका अनुसार कुनै मत पत्रमा स्वस्तिक छाप नलगाइएको भए र सम्बन्धित उम्मेदवारको नाम लेखिएको कोठामा मत संकेत प्रयोग गर्नुपर्नमा अन्यथा गरेको पाइएमा त्यस्ता मत पत्र बदर हुनेछन्।
आजको मतदानमा ३१३ संघीय सांसद र ५१८ प्रदेश सभा सदस्यले मतदान गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी र नेपाल मजदुर किसान पार्टीका सांसदहरूले मतदान गरेनन्।
मतपरिणाम केही घन्टामै सार्वजनिक हुने र विजयी उम्मेदवारलाई आजै प्रमाणपत्र दिइने आयोगले जनाएको छ।
Comments