पहिलोपटक एमाले नेता नेकपा एसको कार्यालयमा

Bhugolpark

१९ फाल्गुन, २०७९,११:५४

फागुन१९,काठमाडौं ।भूगोल पार्कले देशविदेशको समयसामयिक विषयमा समाचार पाठकहरूलाई पस्किरहेको छ।आज भने एमालेले यसअघि पार्टीबाट विभाजित भएर गएको एकीकृत समाजवादीसँग पार्टी एकीकरणको प्रस्ताव गरेको विषय लिएर आएका छौं।

एमाले नेताहरू राष्ट्रपतिमा सुवास नेम्वाङका लागि भोट माग्न एकीकृत समाजवादीको कार्यालय पुग्दा पार्टी एकता’विषयमा पनि छलफल गरेका हुन् ।

एमालेबाट राष्ट्रपतिका लागि उम्मेदवार भएका नेम्वाङका लागि मत माग्दै एमाले नेताहरू बिहीबार एकीकृत समाजवादीको केन्द्रीय कार्यालय आलोकनगर, काठमाडौं पुगेका थिए । गत साता एमाले अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई एक पत्र लेख्दै राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई मतदान गर्न आग्रह गरेका थिए ।

यसअघि ओलीले राष्ट्रपतिमा नेपाललाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए । पछिल्लो समय एमाले अध्यक्ष ओलीले एकीकृत समाजवादीसँग सहकार्य मात्रै नभई पार्टी एकताका लागिसमेत पहल थालेका छन् । ओलीको सो पहललाई एकीकृत समाजवादीका नेताले सकारात्मकरूपमा लिँदै छलफलका लागि ‘ढोका’ खुलेको टिप्पणी गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय कार्यालय पुगेका एमाले नेताले नेम्वाङको पक्षमा मतदान गर्न आग्रह गर्दै पार्टी एकता गर्नुपर्नेमा जोड दिएका थिए । नेम्वाङले अध्यक्ष नेपाललाई राष्ट्रपति निर्वाचनमा मतदान गरेर सघाउन आग्रह गरे । नेम्वाङसँगै एमाले उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव तथा प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ, सचिव रघुवीर महासेठ र नेता विमला राई सहभागी थिए ।

भेटघाटमा एकीकृत समाजवादीका अध्यक्ष नेपालसहित उपाध्यक्ष प्रमेश हमाल, महासचिव डा. वेदुराम भुसाल, उपमहासचिव प्रकाश ज्वाला र सचिवालय सदस्य रामचन्द्र झासमेत सहभागी थिए । एमाले र एकीकृत समाजवादीका शीर्ष नेताबीच पार्टी विभाजनपछि एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा यो पहिलो औपचारिक भेटघाट हो । एमाले प्रवक्ता गुरुङले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेवारलाई मत दिन अनुरोध गरेको बताए ।

उनले आफ्नो दलले अघि सारेको उम्मेदवार नेम्वाङलाई मत मागेको र दुई पार्टीलाई एकता बनाउने कुरा राखेको जानकारी दिए । ‘राष्ट्रपति निर्वाचनका लागि एकीकृत समाजवादीको कार्यालयमा पहिलोपटक आएर भेटेका छौं,’ गुरुङले भने, ‘अहिले पार्टी एकता पनि गर्ने चुनौतीबीच अवसरसमेत प्राप्त भएको कुरा हामीले राखेका छौं । यो चुनौतीबीच अवसर प्राप्त भएको छ, यसलाई अघि बढाउनुपर्छ ।’ एमालेका तर्फबाट राष्ट्रपतिका उम्मेदवार नेम्वाङलाई सहयोग गर्न गरेको आग्रहमा एकीकृत समाजवादीले अर्का उम्मेदवार रामचन्द्र पौडेलको प्रस्तावक बनिसकेको जवाफ फर्काएको छ ।

एमालेले सौहार्दपूर्ण सम्बन्धका लागि सुरु गरेको प्रयास स्वागतयोग्य भएको एकीकृत समाजवादीका नेताले बताए । एकीकृत समाजवादीका उपमहासचिव एवं प्रवक्ता जगन्नाथ खतिवडाले नेम्वाङसहितको टोलीले राष्ट्रपतिमा सहयोगको अपील गरेको बताए । उनले एमालेसँग पहिलोपटक औपचारिक भेटवार्ता भएकोमा अध्यक्ष नेपालले धन्यवाद दिएको बताए ।

एमालेले औपचारिक संवाद सुरु गरेकोमा खुसी लागेको खतिवडाले बताए । तर, बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले पौडेललाई राष्ट्रपतिमा सहयोग गर्ने निर्णय गरिसकेकाले दायाँबायाँ नहुने उनको भनाइ छ । प्रवक्ता खतिवडाले एकीकृत समाजवादीकै अस्तित्वमाथि पटकपटक प्रश्न उठाउने पार्टी केन्द्रीय कार्यालयमै औपचारिक प्रस्ताव लिएर आउनु खुसीको कुरा भएको बताए ।

‘नेकपा एमालेले हाम्रो अस्तित्वमाथि अनेकौंपटक अनेकौं कुरा भनेको छ । तर, त्यही पार्टीले पार्टी केन्द्रीय कार्यालयमा आएर औपचारिक कुराकानी गर्नु त खुसीको कुरा नै हो । बल्लबल्ल दुई पार्टीबीच भेटघाट भएको छ । सौहार्दपूर्ण सम्बन्ध र मित्रता विकास गर्न एमालेले सुरु गरेको प्रयास स्वागतयोग्य छ,’ उनले भने ।


241 Views

Comments