पूर्व पाँचदलीय गठबन्धन ब्यूँताउने तयारी

Bhugolpark

११ फाल्गुन, २०७९,११:२९

कांग्रेस नेताहरूका अनुसार राष्ट्रपति आफ्नो दललाई दिने पूर्व समझदारीमा प्रधानमन्त्री प्रचण्ड कायमै देखिएका छन् । र, राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा पाँच दलीय गठबन्धन ब्यूँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म ठोस आकार लिने छ ।

१० फागुन, काठमाडौं । राष्ट्रपति चुनावलाई लिएर नेकपा एमाले र माओवादी केन्द्रको सत्ता गठबन्धन फुटको संघारमा पुगेको छ । राजनीतिक परिस्थितिमा ठूलो बदलाव नआएमा कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धन ब्यूँताउन भइरहेको प्रयासले बिहीबार साँझसम्म ठोस आकार लिने नेताहरुले बनाएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मध्येको पहिला प्रधानमन्त्री हुने भन्ने विवादले १० पुसमा पाँचदलीय गठबन्धन टुटेको थियो । प्रचण्डलाई प्रधानमन्त्री बनाउन एमाले सहमत भएपछि नयाँ गठबन्धन बन्यो, जसमा राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी, जनमत र नागरिक उन्मुक्ति पार्टी पनि सहभागी भए । तर दुई महिनामै यो गठबन्धन भत्किएर पाँच दलीय गठबन्धन ब्यूँतिने परिस्थिति बन्दै गएको छ ।

यद्यपि अझै पनि सत्ता गठबन्धन जोगाउन प्रयास भइरहेको एमाले नेताहरू बताउँछन् । बुधबार विहान प्रधानमन्त्री प्रचण्डसँग भएको भेटमा पनि एमाले अध्यक्ष ओलीले माधवकुमार नेपाललाई राष्ट्रपति बनाएर गठबन्धन जोगाउने प्रस्ताव राखेका थिए ।

प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा भएको झण्डै दुई घण्टा लामो छलफलमा एमाले अध्यक्ष ओलीले आपसी विश्वास कायम राख्न पनि १० पुसमा भएको सहमति कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका थिए । त्यो दिन प्रचण्डले प्रधानमन्त्रीमा दाबी गर्न जानुअघि एमालेलाई राष्ट्रपति दिने सहमति भएको थियो । तर आफूले ‘खल्तीको मान्छे’ ल्याउँछ भनेर प्रचार गरिएको भन्दै ओलीले ‘तपाईँले रोजेकै मान्छे ल्याऊँ न त’ भन्दै माधव नेपालको नाम लिएका थिए । तर प्रचण्डले जसपा लगायतका दलहरूसँग छलफल गर्छु भनेपछि ओलीले कांग्रेससँगै जाने निर्णय भए ठीकै छ समेत भनेका थिए ।

माधव नेपालको दबाव

एमाले अध्यक्ष ओलीले प्रचण्डलाई भेट्नुअघि नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई भेटेर यही प्रस्ताव राखेका थिए । देश संकटमा जान लागेकाले एमाले र एकीकृत समाजवादीबीच पार्टी एकता गर्नुपर्ने उनको प्रस्ताव थियो । त्यसो गर्दा संसदको सबभन्दा ठूलो दल बन्ने र सबै प्राप्त गर्न सकिने भन्दै उनले अध्यक्ष नेपाललाई राष्ट्रपति पनि बनाउन सकिने संकेत गरेका छन् ।

बुधबार पार्टी सचिवालय बैठकमा ओलीसँग भएको भेटबारे ब्रिफिङ गर्दै अध्यक्ष नेपालले सोझै प्रस्ताव नगरेको, तर मनोविज्ञानमा त्यो झल्किएको सुनाएका थिए ।

ओलीले अध्यक्ष नेपाललाई राष्ट्रपति प्रस्ताव गरेपछि कांग्रेस सभापति देउवा भने दबावमा आएका छन् । एमाले–माओवादीको सत्ता गठबन्धन टुटाउने र राष्ट्रपति लिन निरन्तर प्रचण्डसँग सम्वादमा थिए । प्रचण्डले पनि राष्ट्रपतिमा वचन दिएका थिए । तर ओलीले माधव नेपाललाई गरेको प्रस्तावले सत्ता गठबन्धन जोगिने र भत्किएको अवस्थामा पनि राष्ट्रपति फुत्किने नेताहरूको आशंका थियो ।

त्यसैले माधवकुमार नेपालसँग तत्काल सम्वाद गर्न देउवाले वरिष्ठ नेता पौडेललाई भनेका थिए । बुधबार दिउँसो नेता पौडेलले आलोकनगरस्थित एकीकृत समाजवादीको कार्यालयमा पुगेर अध्यक्ष नेपालसँग छलफल समेत गरेका छन् ।

तर पौडेलले खोजेजस्तो राष्ट्रपतिमा कांग्रेसलाई सघाउने वचन अध्यक्ष नेपालले दिएनन् । एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार अध्यक्ष नेपाल आफैं राष्ट्रपति हुन इच्छुक छन् । तर ओलीले प्रस्तावअनुसार एमालेमा पार्टी विलय गरेर नभई कांग्रेसको पनि समर्थन जुटाएर राष्ट्रपति हुने उनको चाहना छ ।

एकीकृत समाजवादीको सचिवालय बैठकले पनि राष्ट्रपतिका लागि पहल गर्ने निर्णय गरेको छ ।

लगत्तै अध्यक्ष नेपाल, महासचिव वेदुराम भुसाल र सचिवालय सदस्य घनश्याम भूसाल कांग्रेस सभापति देउवाको निवास धुम्बाराही पुगेका थिए । काग्रेसबाट देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्णप्रसाद सिटौला र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा उपस्थित थिए ।

भेटमा सहभागी नेताहरुका अनुसार अब बन्ने राष्ट्रपति संविधान र लोकतन्त्रको रक्षा गर्ने व्यक्ति हुनुपर्नेमा दुबै दल सहमत छन् । तर दुबैको आआफ्नो दाबी छ । एकीकृत समाजवादीका नेताहरूले आफ्ना अध्यक्ष नेपाललाई राष्ट्रपति बनाउँदा परिस्थिति सहज हुने तर्क गरेका थिए । कांग्रेस नेताहरूले भने आफ्नो दलले राष्ट्रपति नपाउने गरी कसरी समझदारी हुनसक्ला र भन्ने प्रश्न गरेका छन् ।


174 Views

Comments