लुम्बिनी राष्ट्रिय सभा उपनिर्वाचनमा मतदान सुरु

Bhugolpark

२५ माघ, २०७९,१२:०१

दाङ — भूगोल पार्कको प्रक्षेपणमा सत्ता गठबन्धन दल नेकपा एमाले उम्मेदवारले जीत्ने देखिन्छ तर सत्ता गठबन्धन दलको अर्को घटक नागरिक उन्मुक्तिका राजेन्द्रवीर रायको उम्मेदवारी दर्ता भएसँगै नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेद्वारबीच कडाटक्कर हुने देखिन्छ।

लुम्बिनी प्रदेशको अन्य समूहअन्तर्गत राष्ट्रिय सभा सदस्यको उपनिर्वाचनमा मतदान सुरु भएको छ । बुधबार बिहान १० बजेदेखि घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले बताए ।

अपराह्न ३ बजेसम्म मतदान हुने उनले जानकारी दिए । नेकपा एमाले, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै छ । सत्ता गठबन्धनका तर्फबाट एमालेका कुमार दशौंदी, कांग्रेसका माधवप्रसाद आचार्य र नागरिक उन्मुक्तिका राजेन्द्रवीर रायको उम्मेदवारी दर्ता भएको छ । सत्ता गठबन्धनका तर्फबाट दशौंदीको उम्मेदवारी दर्ता भए पनि उन्मुक्तिले असन्तुष्टि जनाउँदै छुट्टै उम्मेदवारी दिएको छ । दशौंदी र आचार्य रोल्पा निवासी हुन् भने राय बाँकेका हुन् । मतदान सकिएलगत्तै मतगणना हुने मुख्य निर्वाचन अधिकृत कार्कीले जानकारी दिए ।

एमालेका खिमलाल भट्टराईले प्रतिनिधिसभा निर्वाचनका क्रममा राजीनामा दिएपछि रिक्त भएको पदमा उपनिर्वाचन हुन लागेको हो । रुपन्देहीका भट्टराईले प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार हुन राष्ट्रिय सभा सदस्य छाडेका थिए । उनले रुपन्देही-५ बाट उम्मेदवारी दर्ता गरेका थिए तर उनीभन्दा पहिला एमालेबाटै तिलोत्तमा नगरपालिकाका पूर्वप्रमुख बासुदेव घिमिरेको उम्मेदवारी दर्ता भएका कारण भट्टराईको उम्मेदवारी खारेज भएको थियो ।

राष्ट्रिय सभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिका प्रमुख तथा उपप्रमुखले मतदान गर्दै छन् । प्रदेशसभा सदस्य एक जनाको मतभार ४८ र स्थानीय तहका प्रमुख उपप्रमुख मध्य हरेकको मतभार १८ हुने निर्वाचन कार्यालयले जानकारी दिएको छ ।

लुम्बिनी प्रदेशमा कुल मतदाता संख्या ३ सय ५ रहेको छ‚ जसमध्ये प्रदेशसभा सदस्यको संख्या ८७ र पालिका प्रमुख तथा उपप्रमुखको संख्या २ सय १८ छ । लुम्बिनी प्रदेशमा १ सय ९ पालिकाहरू छन् । तीमध्ये कांग्रेसले ४८, एमालेले २७, माओवादी केन्द्रले २५, जसपाले ३, जनमोर्चा र लोसपाले २/२ तथा राप्रपा र जनता प्रगतिशीलले १/१ स्थान जितेका छन् ।


234 Views

Comments