कांग्रेसकी मुक्ताकुमारी यादवले दिइन् उपसभामुखमा उम्मेदवारी

Bhugolpark

६ माघ, २०७९,१६:०८

काठमाडौँ — कांग्रेस सांसद मुक्ताकुमारी यादवले उपसभामुख पदमा उम्मेदवारी दिएकी छन् । कांग्रेसले नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासहित मोर्चा बनाएर उपसभामुखमा उम्मेदवारी दिएको हो । 

यादवको प्रस्तावमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डे रहेका छन् भने नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरी, लोकतान्त्रिक समाजवादी पार्टीका सांसद सर्वेन्द्रनाथ शुक्ल र कांग्रेसका प्रमुख सचेतकसमेत रहेका रमेश लेखक समर्थक रहेका छन् ।

कांग्रेसबाट उम्मेदवारी दिएकी यादव पार्टीकी केन्द्रीय सदस्यसमेत हुन् । उनी राष्ट्रिय सभाकी पूर्वसांसद समेत हुन् । उनी २०७४ मा मधेस प्रदेशबाट २ वर्षका लागि राष्ट्रिय सभा सदस्यमा चुनिएकी थिइन् । त्यसअघि उनी विक्रम संवत २०७० सालमा समानुपातिक सांसदसमेत भएकी थिइन् ।

सत्ता गठबन्धनबाट भने राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा राना मगरले उपसभामुखमा उम्मेदवारी दिइसकेकी छिन् । सभामुखको निर्वाचनमा कांग्रेसकी ईश्वरीदेवी न्यौपानेलाई नेकपा एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले मत दिएका थिए ।

सभामुखमा निर्वाचित एमाले उम्मेदवार देवराज घिमिरेले एमालेसहित माओवादी, रास्वपा, राप्रपा, जसपा, जनमत, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र सांसदले मत दिएका थिए । सभामुख चुनावमा देखिएको गठबन्धनले उपसभामुखमा पनि सत्ता गठबन्धनको स्पष्ट बहुमत देखिएको छ ।



231 Views

Comments