२ माघ, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
नेपालमा निरन्तर भइरहने जहाज दुर्घटना र यसको न्यूनीकरणमा नियामक निकाय र सरकारको अक्षमता होइन, नेपाल सरकारले मापदण्ड लागु गरोस भन्दै भूगोल पार्क परिवार यति एयरलाइन्सको विमान दुर्घटनामा परी ज्यान गुमाउँनुहुने नेपाली र विदेशी यात्रुहरूको चिरशान्तिको कामना गर्दै हार्दिक समवेदना प्रकट गर्दछ ।
भूगोल पार्क नेपालमा को ७३ वर्षिय हवाई इतिहासमा विमान दुर्घटनाको संख्या १०४ पुगेको बारेमा एवं सरकार सर्वप्रथम २००६ सालमा तत्कालीन राजा महेन्द्रले काठमाडौंको सानो गौचरण (अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँ) मा डकोडा विमान ल्याएको बारेमा पाठक वर्गलाई जानकारी दिनेछौं । युरोपेली यूनियन ( ईयू)ले नेपालको हवाई सेवा नियामक निकाय र नेपालमा दर्ता भएका वायुसेवा कम्पनीलाई सन् २०१३ देखि नै ‘सुरक्षा चासोको सूची’ (ब्ल्याक लिस्ट)मा राखेको विषय एवं नेपाल सरकारले विमान दुर्घटनालाई न्युनीकरण गर्न अवलम्वन गरेका नीतिनियमका बारेमा जानकारी दिने जमर्को गरेका छौं ।
७३ वर्षिय हवाई इतिहासमा विमान दुर्घटनाको संख्या १०४
आइतबार बिहान पोखरामा भएको यती एयरलाइन्सको ९एन एएनसी एटीआर ७२–५०० विमान दुर्घटना मुलुकको आन्तरिक हवाई उडानको इतिहासमै सबैभन्दा धेरै मानवीय क्षति भएको दुर्घटना बन्यो ।
काठमाडौंबाट ६८ जना यात्रु र चालक दलका चारजना सदस्यसहित ७२ जना सवार पोखराका लागि उडेको यती एयरलाइन्सको विमान पोखराको सेती नदी खोंचमा खसेको थियो । चालक कमल केसीले सो विमान उडाएका थिए ।
सो विमान पोखराको टावरसँग सम्पर्कमा आएको एक मिनेटभित्रै सेती नदीको खोंचमा दुर्घटना भएको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार त्यतिबेला क्याप्टेन केसीसँगको सम्पर्कमा पोखरा टावरका एयर ट्राफिक कन्ट्रोलरले रनवे ३ शून्यमा ल्यान्ड गर्न आग्रह गरेका थिए । तर, चालक केसीले अर्को रनवे मागेका थिए ।
रनवे थ्री जेरोमार्फत ल्यान्ड गर्नुभन्दा चालकले होइन रनवे ‘वान टु’ बाट आउँछु भनेर अर्को रनवे खोजेका थिए । अर्को रनवेबाट आउन क्लियरेन्स दिनेबित्तिकै दुर्घटना भएको र सो दुर्घटना के कारण भयो भन्ने’जानकारी अहिलेसम्म नखुलेको प्राधिकरणले जनाएको छ ।
एकै वर्षमा यतीका दुई विमान दुर्घटना
आइतबारको दुर्घटनासँगै यती समूहद्वारा सञ्चालित एयरलाइन्सको एकै वर्षमा दुईवटा विमान दुर्घटना भएका छन् । यसअघि यती एयरको भगिनी संस्था तारा एयरको विमान पोखराबाट जोमसोम जानेक्रममा गत १६ जेठमा दुर्घटना हुँदा २२ जनाको निधन भएको थियो ।
यसअघि नेपाली आकाशका भएको अहिलेसम्मकै ठूलो विमान दुर्घटना भने सन् १९९२ मा भएको थियो । ललितपुरको भट्टेडाँडामा पाकिस्तान एयरको विमान दुर्घटना हुँदा १ सय ६७ जना यात्रुको ज्यान गएको थियो । सोही वर्ष थाई एयरको विमान दुर्घटनामा १ सय १३ यात्रुले ज्यान गुमाएका थिए ।
त्यसपछि पछिल्लोपटक सन् २०१८ मा काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यूएस बाङ्ला एयरको विमान दुर्घटनामा ५१ जना यात्रुको ज्यान गएको थियो । अहिलेसम्म नेपालमा १० वटा अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीका विमान दुर्घटनामा परेका छन् । सो दुर्घटनाबाट ३ सय ७३ जना यात्रुले ज्यान गुमाइसकेका छन् । तर, यी सबै अन्तर्राष्ट्रिय उडानअन्तर्गतका विमान दुर्घटनामा परेका थिए ।
आन्तरिक उडानतर्फ आइतबार पोखरामा भएको यती एयरको विमान दुर्घटना नेपालको इतिहासकै सबैभन्दा ठूलो मानवीय क्षति भएको हवाई दुर्घटना हो । यसभन्दा अघि हेलिकोप्टर र ४२ सिटे विमानभन्दा ठूलो आन्तरिक दुर्घटना भएको थिएन ।
नेपालको हवाई इतिहासमा आइतबार पोखरामा भएको यती एयरको दुर्घटनासहित हवाई दुर्घटनाको संख्या १ सय चारवटा पुगेको छ । सर्वप्रथम २००६ सालमा तत्कालीन राजा महेन्द्रले काठमाडौंको सानो गौचरण (अहिलेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँ) मा डकोडा विमान ल्याएपछिको ७३ वर्षको हवाई इतिहासमा दुर्घटना संख्या १ सय ४ पुगेको हो ।
२०१२ सालको वैशाखमा पहिलोपटक सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । सो विमान दुर्घटनामा दुईजनाको मृत्यु भएको थियो । नेपाल नागरिक उड्डयन प्राधिकरणको ‘हवाई सुरक्षा प्रतिवेदन’ अनुसार व्यावसायिक आन्तरिक उडानतर्फ पोखरामा आइतबार भएको यो ५०औं दुर्घटना हो ।
हालसम्म नेपालमा एउटा मात्र इन्जिन भएका आठवटा विमान दुर्घटना भएका थिए भने हेलिकोप्टरतर्फ ३६ वटा र अन्तर्राष्ट्रियतर्फ १० वटा वायुसेवा गरी नेपालमा हालसम्म सानाठूलासहित १ सय ४ वटा विमान दुर्घटना भइसकेका छन् ।
विभिन्न दुर्घटनाबाट अहिलेसम्म साढे ८ सयजना भन्दा बढी यात्रुको मृत्यु भइसकेको छ । आइतबार पोखरामा भएको यतीको दुर्घटनाबाहेक हालसम्म यस्ता हवाई दुर्घटनामा ८ सय ४९ जना यात्रुको मृत्यु भइसकेको छ । अब यसमा ७२ जनाको संख्या जोडिनेछ ।
जसमा आन्तरिकतर्फ ३ सय ६४ जना, सिंगल इन्जिन भएका विमान दुर्घटनामा २५ जना, हेलिकोप्टरतर्फ ८५ जना र अन्तर्राष्ट्रिय वायुसेवातर्फ ३ सय ७५ जना गरी कुल ८ सय ४९ जनाको मृत्यु भइसकेको छ ।
आइतबार पोखरामा भएको यती एयरको एटीआर विमान दुर्घटना २४ वर्षयता भएको यती समूहको १४औं हवाई दुर्घटना हो । यसअघि गत जेठमा पोखराबाट जोमसोमका लागि १९ जना यात्रु लिएर जाँदै गरेको तारा एयरको ट्विनअटर विमान दुर्घटनामा चालकदलसहित २२ जनाको मृत्यु भएको थियो । सुगम उडानमा यतीको नाममा पाँचवटा एटीआर विमान भएको यती एयरलाइन्ससँग अब जम्मा चारवटा एटीआर विमान मात्र बाँकी छ ।
पोखराको विमान दुर्घटनापछि यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले आइतबार दिनभर उद्धार कार्य भएको जानकारी गराए ।
यसअघि भएका विभिन्न दुर्घटनामध्ये सबैभन्दा धेरै यात्रुको मृत्यु सन् २००० को विमान दुर्घटनामा भएको थियो । डडेलधुरामा भएको त्यो दुर्घटनामा २५ जना यात्रुको मृत्यु भएको थियो ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना
आइतबार बिहान भएको यतीको विमान दुर्घटना पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकै पहिलो दुर्घटना भएको छ । आइतबार बिहान काठमाडौंबाट उडेको यती एयरलाइन्सको विमान पोखरा विमानस्थलमा अवतरण गर्ने क्रममा सेती नदी खोंचमा झरेर दुर्घटनाग्रस्त भएको हो ।
आज यतीका सबै उडान रद्द
यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनाको शोकमा आज (सोमबार) निर्धारित सबै उडान रद्द गर्ने भएको छ । एक सूचना प्रकाशित गर्दै यतीले सोमबार आपत्कालीन र उद्धार उडानबाहेक नियमित सबै उडान रद्द गरेको जनाएको छ । यतीको ९एन एएनसी एटीआर ७२–५०० विमान विमान दुर्घटनाबाट अहिलेसम्म ६८ जनाको मृत्यु भएको पुष्टि भइसकेको छ । भने अन्यको उद्धार एवं खोजी भइरहेको छ ।
सन् १९६० यता डबल इन्जिन जहाजका ५० दुर्घटना, पोखरामा अहिलेसम्मकै धेरैको मृत्यु
नेपालमा भएका जहाज दुर्घटनामध्ये आन्तरिकतर्फ अहिलेसम्मकै धेरैको मृत्यु भएको छ।
आइतबार बिहान काठमाडौंबाट साढे १० बजे उडेको ९ एन-एएनसी जहाज पोखरा महानगरपालिका-१५ स्थित सेतीको खोँचमा दुर्घटना भएको हो। उक्त जहाज १०:५० मा दुर्घटना भएको हो।
नेपाल नागरिक उड्डयन प्राधिकरणको तथ्यांकका अनुसार दुई इन्जिन जहाज दुर्घटनामा अहिलेसम्मकै धेरैको ज्यान गुमेको हो।
जहाजमा ४ चालक दलसहित ७२ जना सवार थिए। जसमध्ये ६९ जनाको शव फेला परिसकेको छ। तीन जनाको शव अझै पनि अज्ञात छ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाले उद्धार तथा खोजतलासको काम गरिरहेको छ।
नेपालमा योसहित दुई इन्जिजका ५० वटा जहाज दुर्घटनामा परिसकेका छन्।
यसअघि जहाज दुर्घटनामा सबैभन्दा धेरै ३५ जनाको मृत्यु
यसअघि जहाज दुर्घटनामा सबैभन्दा धेरै ३५ जनाको मृत्यु भएको थियो। १९६९ जुलाइ १२ मा नेपाल एयरलाइनसको जहाज हेटौंडा नजिकै दुर्घटनामा परेको प्राधिकरणले जनाएको छ।
उक्त संख्या पछि अहिले पोखरामा धेरैको ज्यान गुमेको हो।
पछिल्लो समय सन् २०२२ मे २९मा तारा एयरको जहाज मुस्ताङको टिटी घासा क्षेत्रमा दुर्घटना भएको थियो। उक्त दुर्घटनामा २२ जनाको मृत्यु भएको थियो।
त्यसअघि सन् २०१९ सन् अप्रिल १४ मा लुक्ला एयरपोर्टमा भएको समिट एयर दुर्घटनामा तीन जनाको मृत्यु भएको थियो।
समिट एयरकै कार्गो जहाज सन् २०१७ मे २७ मा लुक्लामा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको थियो।
सन् २०१६ फेब्रुअरी २४मा तारा एयरको जहाज म्याग्दीमा दुर्घटना भएको थियो। त्यस दुर्घटनामा २३ जनाले ज्यान गुमाएका थिए। अन्तर्राष्ट्रिय जहाजतर्फ नेपालमा १० दुर्घटना भएका छन्।
जसमध्ये सबैभन्दा धेरै १६७ जनाको मृत्यु भएको छ।
आन्तरिकतर्फका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन
सरकारले आन्तरिक उडानका सबै विमानको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको छ । पोखरामा यती एयरको विमान दुर्घटनालगत्तै आइतबार बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्देशन दिएको हो ।
बैठकले आगामी दिनमा आन्तरिक उडानमा दुर्घटना हुन नदिन अनिवार्य प्राविधिक परीक्षण गर्न सबै वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । आन्तरिक उडानका विमानको अनुगमन नागरिक उड्डयन प्राधिकरणले नै गर्नेछ । ‘यो व्यवस्थाले आगामी दिनमा यस्ता हवाई दुर्घटना हुन नदिन भूमिका खेल्ने अपेक्षा गरिएको छ,’ बैठकपछि सरकारका प्रवक्तासमेत रहेका उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले भने ।
यतीको विमान पोखरामा दुर्घटना भएपछि बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले पूर्वसचिव नागेन्द्र घिमिरेको नेतृत्वमा जाँच आयोग पनि बनाएको छ । सो विमान दुर्घटनाको छानबिन गर्न सरकारले पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको छ ।
आयोगको सदस्यमा हवाईविज्ञ नेपाली सेनाका अवकाशप्राप्त क्याप्टेन दीपकप्रकाश बास्तोला, अवकाशप्राप्त क्याप्टेन सुनिल थापा, जहाज मर्मत सम्भार विषयका इन्जिनियर एकराजजंग थापा रहेका छन् । यसैगरी, सदस्य सचिवमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव वुद्धिसागर लामिछाने छन् ।
यसैगरी, दुर्घटनाका ’बारेमा जानकारी लिन चाहने मृतक यात्रुका परिवार आफन्त सरोकारवालाका लागि त्रिभुवन विमानस्थलमा कल सेन्टर स्थापना गर्ने निर्णय पनि सरकारले गरेको छ । त्यस्तै, विमान दुर्घटनामा परेकाको शव बुझ्न र आफ्नो ठाउँमा लैजान सहजीकरण गर्ने निर्णयसमेत सो बैठकले गरेको छ ।
युरोपको कालोसूची
हवाई सुरक्षा कमजोर नै रहेको अर्को प्रमाण हो, ईयूको कालोसूची । युरोपेली यूनियन ( ईयू)ले नेपालको हवाई सेवा नियामक निकाय र नेपालमा दर्ता भएका वायुसेवा कम्पनीलाई सन् २०१३ देखि नै ‘सुरक्षा चासोको सूची’ (ब्ल्याक लिस्ट)मा राखेको छ ।
नेपालमा निरन्तर भइरहने जहाज दुर्घटना र यसको न्यूनीकरणमा नियामक निकाय र सरकारको अक्षमतालाई देखाएरै युरोपेली यूनियनले १० वर्षदेखि प्रतिवन्ध हटाउन मानेको छैन । वर्षैसाल नेपाल नागरिक उड्डयन प्राधिकरणले युरोपेली यूनियनको सुरक्षा चासोको सूचीबाट हट्ने दाबी गर्दै आएको छ । आइकाओले २०२२मा गरेको हवाई सुरक्षा ‘अडिट’मा नेपालले ७०.१० अंक प्राप्त गरेको थियो । यसै आधारमा युरोपेली यूनियनले नेपाललाई कालोसूचीबाट हटाउने प्राधिकरणले गरिरहेकै अवस्थामा एकैवर्ष २ वटा दुर्घटना भएको छ ।
पटक-पटक हुने यस्ता दुर्घटनाले हवाई सुरक्षामा सुधार भएको नेपाली दाबीमाथि प्रश्न उठ्ने गरेको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिसचन्द्र लाल सुमन यस्ता दुर्घटनालाई बिडम्बना मान्छन् । ‘नागरिक उड्डयनको क्षेत्रमा दुर्घटना हुनु भनेको मिहिनेती विद्यार्थी परीक्षामा फेल हुनुजस्तै हो’, उनी भन्छन्, ‘फेल भएपछि त उसले कति मिहिनेतका साथ पढेको थियो भन्ने कुराको अर्थ नै रहँदैन यो नेपालको दुर्भाग्य हो ।’
उनका अनुसार नागरिक उड्डयनसँग सम्बन्धित अन्तर्राष्ट्रिय नियामक निकायले दुर्घटना र यसको दरलाई मात्र परीक्षणको आधार मान्दैनन् । तर यो एउटा पक्ष भने हो । यसले समग्र नतिजामा भने अवश्य असर पुग्ने पूर्वमहानिर्देशक सुमन बताउँछन् ।
‘सरकारले कर्मकाण्डी छानबिन होइन, हवाई सुरक्षाको प्रष्ट योजना ल्याउनुपर्छ’
सरकारले हिजो नै आकस्मिक मन्त्रिपरिषदको बैठक बसेर आज सोमबार शोक विदा दिने निर्णय गर्नुका साथै पूर्वसचिव नागेन्द्र घिमिरे नेतृत्वको छानविन आयोग पनि बनायो । पाँच सदस्यीय आयोगलाई दुर्घटनाको कारण पत्ता लगाउनुका साथै भोलिका दिन अपनाउनुपर्ने सावधानीबारे सुझाव दिन भनिएको छ ।
आयोग बन्छन्, प्रतिवेदन थन्किन्छन्
नेपाल हरेक पटक हुने जहाज दुर्घटनापिच्छे जाँच गर्न ‘दुर्घटना जाँचबुझ आयोग’ गठन हुन्छन् । आयोगले दुर्घटना हुनुका कारणसहित यस्ता दुर्घटना हुन नदिन कसले के गर्ने ? के नगर्ने ? भन्नेसम्मका सुझाव संगालेर प्रतिवेदन दिन्छ ।
तर यस्ता प्रतिवेदनको सुझाव न सरकारले पढ्छ, न कार्यान्वयनका लागि तत्परता देखाउँछ ।नागरिक उड्डयन प्राधिकरणका अर्का पूर्वमहानिर्देशक वीरेन्द्रबहादुर देउजा पनि दुर्घटना हुनु दुखद पक्ष भएपनि हजारौं सफल उडानका बीच एउटा दुर्घटनालाई लिएर कुनै निष्कर्षमा पुग्न नहुने बताउँछन् । ‘दुखदः दुर्घटना भयो, तर यसैलाई लिएर कुनै निष्कर्षमा पुग्न हतार गर्न हुन्न । जाँच आयोगको प्रतिवेदन कुर्नुपर्छ ।’
Comments