२० पुस, काठमाडौं । भूगोल पार्कले नेपालमा पहिलो पोलिङ र सर्भे वेबसाइट स्थापना भएको छोटो समयमा नै जनजनको मनमा बस्न सफल भएको छ ।यसले देशको राष्ट्रिय र अन्तराष्ट्रिय समयसापेक्ष घटनाहरूलाईं सत्यतथ्य-निष्पक्ष एवम् तटस्थ रही सही सूचनालाईं तथ्याङ्कमा आधारित भई इन्फ्रोग्राफिक साथै पहिलो पोलिङ र सर्भे टुइटर, फेसबुक, इन्टाग्राम आदिमा समाचार पस्किरहेका छ।
भूगोल पार्कको बिचारमा नेपालको अर्थतन्त्रलाई टेवा पुर्याउँन आन्तरिक र वाह्य पर्यटकहरूलाई लोभ्याउँने खालको विकास निर्माण र प्रर्यटकहरूलाई दिने सेवा गुणस्तरीय हुनुपर्ने एवं व्यक्ति र संस्थाले गर्ने व्यवहार राम्रो हुर्नुपर्ने ठम्याई छ ।अर्थतन्त्रको मेरुडण्डका रुपमा रहेको पर्यटन व्यवसाय ७० वर्षपूर्वभन्दा सुस्त गतिमा भएपनि फष्टाएर गैरहेको छ ।आज हामी पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै पोख्रेली जनतामा भएको खुसीको सञ्चार एवं ७१ वर्षअघि खुला चौरमा शुरू भएको मुस्ताङचोकस्थित पुरानो विमानस्थललाई खुला ठाउँका रूपमा संरक्षण गर्नुपर्ने विषयमा चर्चा गर्न लागिरहेका छौं।
जग्गा अधिग्रहण गरिएको ४७ वर्षपछि पोखरामा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ। १ जनवरी २०२३ अर्थात् पुस १७ बाट व्यावसायिक रूपमा सञ्चालनमा आएको हो।
प्रजातन्त्र स्थापनासँगै २००८ सालदेखि सञ्चालनमा आएको पोखराको मुस्ताङचोकस्थित विमानस्थलमा भौगोलिक कारण ठूलो जहाज अवतरण र उडान गर्न नसकिने, खुला क्षेत्रको अभावले धावनमार्ग विस्तार गर्न नसकिने भएपछि नयाँ विमानस्थल निर्माणको चर्चा शुरू भएको थियो। २०२९ सालमा नयाँ विमानस्थल निर्माणको पहल थालिएसँगै प्यासिफिक एशोसिएशन अफ ट्राभल एजेन्सीले थाइल्यान्डको पटैया र पोखराको पर्यटन विकासका लागि गुरुयोजना तयार पारेको व्यवसायी विश्वशंकर पालिखे बताउँछन्। त्यति वेलै पोखरामा ठूलो जहाज अवतरण गर्न सक्ने विमानस्थलको आवश्यकताबारे सुझाव दिइएको थियो।
२०३० सालमा गण्डकीका अञ्चलाधीशका रूपमा शंकरराज पाठक पोखरा आएपछि भने गुरुयोजना तयार भएको पोखराका व्यवसायी एवं नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष आनन्दराज मुल्मी बताउँछन्। “नयाँ विमानस्थलको गुरुयोजना तयार पार्न र यसलाई मूर्त रूप दिनमा अञ्चलाधीश पाठकको योगदान ठूलो छ,” मुल्मी भन्छन्।
अञ्चलाधीश पाठकको सक्रियतामा २०३२ सालको अन्त्यतिर विमानस्थल निर्माणका लागि तत्कालीन छिनेडाँडा गाउँ विकास समितिको डडुवाखर्क, मझेरीपाटन, छिनेडाँडा र हालको पोखरा महानगरपालिका-१४ को जग्गा अधिग्रहण गर्न थालिएको थियो। जग्गा अधिग्रहण गर्न थालिएको ४७ वर्षपछि २०७९ सालमा आएर नयाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल तयार भएको हो।
सरकारी योजना तथा कार्यक्रममा परे पनि विमानस्थल बनाउन भने ढिलाइ र थुप्रै कठिनाइ आए। २०६८ सालमा पोखराका उद्योगी तथा व्यवसायीले सरोकार समिति नै गठन गरी आन्दोलन शुरू गरे। उनीहरूको लामो संघर्षपछि विमानस्थल निर्माण कार्य अघि बढेको थियो। जसले अहिले मूर्त रूप लिएको हो।
नयाँ विमानस्थल सञ्चालनमा आएसँगै पुरानो विमानस्थलको पनि चर्चा हुन थालेको छ। अब पुरानो विमानस्थल के हुन्छ?
२००७ सालमा प्रजातन्त्र स्थापना हुने वेलासम्म पश्चिम क्षेत्रको प्रमुख व्यापारिक केन्द्रका रूपमा पोखरा स्थापित भइसकेको थियो। पोखरादेखि काठमाडौं पुग्न पाँच दिन हिंड्नुपर्थ्यो। सरसामान ल्याउन, आवातजावत गर्न त्यति धेरै समय लाग्ने भएपछि पोखराका व्यापारीहरू प्रेमराज मुल्मी, अमृतप्रसाद शेरचन, श्यामप्रसाद कर्माचार्य, झलकलाल कायस्थ, जीतप्रसाद द्धा, शिवविलास तुलाचन, टेकबहादुर ढेवाजू लगायतले पोखरामा जहाज ल्याउन पहल थाले।
२००८ सालमा टेकबहादुर ढेवाजूको नेतृत्वमा पोखरा व्यापार संघ स्थापना भयो। त्यही ताका काठमाडौंपछि सिमरामा जहाज पुगिसकेको थियो। “भर्खर राणाशासनको अन्त्यपछि नागरिकको कुरा सुन्न थालिएको थियो। त्यही वेला पोखरामा विमान ल्याउने योजना बुनिएको हो,” नेपाल उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुल्मी भन्छन्।
व्यवसायीले पोखरामा जहाज ल्याउन निवेदन दिए। त्यसमाथि छलफल भएपछि सरकारले परीक्षणका लागि पोखरा जहाज लैजाने निर्णय गरेको उनी बताउँछन्। “बस्ती नभएको, झाडी मात्रै रहेको ठाउँमा जहाज अवतरण गर्ने कुरा आयो। त्यसपछि पोख्रेलीहरूले खरबारी, काँडाको झाडी फँडानी तथा सफा गरे,” मुल्मी सम्झन्छन्, “जहाजले ओगट्ने ठाउँ मात्र बनाएर सफा गरिएको थियो।”र, २००८ सालमा पोखराको खुला चौरमा पूर्वाधार विना नै डकोटा जहाज अवतरण भयो। जहाजमा पाइलटसँगै तत्कालीन यातायात मन्त्री गणेशमान सिंह पनि पोखरा ओर्लिएका थिए।
त्यसपछि नियमित उडान हुन चार वर्ष लाग्यो। पोखराबाट काठमाडौं नियमित रूपमा जहाज आउने-जाने भए पनि औपचारिकता पाएको थिएन। त्यसको तीन वर्षपछि २०१५ असार २२ मा औपचारिकता पायो। “अहिलेको पुरानो विमानस्थलको गेटमा ठूलो शमीको रूख थियो, रूखको फेदमै बसेर जहाजको टिकट काटिन्थ्यो,” ७३ वर्षीय मुल्मी स्मरण गर्छन्, “त्यस वेला जहाज आएपछि मात्र टिकट काट्ने चलन थियो। जहाजमा जाने यात्रु पर्खेर बस्ने ठाउँमा पनि शमीको रूख थियो।”
पोखरा विमानस्थलले बिस्तारै पश्चिम नेपालकै विमानस्थलका रूपमा परिचय बनाउँदै गयो। विशेषत: भैरहवा र काठमाडौंका लागि जहाज उड्ने गर्थे। त्यति वेला पोखरामा होटल बनिसकेको थिएन। विमानस्थलका लागि आउने प्राविधिकलाई मुल्मीका पिता तथा व्यवसायी प्रेमराज मुल्मीले आफ्नै घरमा लगेर राखेको उनी सम्झन्छन्।
पोखरामा विमानस्थल सञ्चालनमा ल्याउन बीपी कोइरालाको भ्रमणले भूमिका खेलेको अर्का व्यवसायी विश्वशंकर पालिखे बताउँछन्। “२००८ सालमा बीपीको पोखरा आवागमनपछि नै पोखरा विमानस्थलको थालनी भएको हो,” पोखराका अग्रज व्यवसायी पालिखे भन्छन्।
त्यति वेला शाही नेपाल वायु सेवा निगम (अहिले नेपाल वायु सेवा निगम)को स्थापना भएको थिएन। हिमालय एभिएशन नामको भारतीय कम्पनीले डकोटा विमानबाट हवाई सेवा प्रदान गरेको उनी बताउँछन्। “पोखरालाई अन्य क्षेत्रसँग जोड्ने कुनै यातायात साधन नभएको हुँदा व्यापारिक सामान, विकास निर्माणको सामग्री, आवतजावतका लागि मुख्य साधन नै हवाई मार्ग बनेको थियो,” पालिखे भन्छन्।
भारतीय सैनिकदेखि व्यापार व्यवसाय गर्नेहरूको जहाज चढ्न घुइँचो लाग्ने गरेको उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष मुल्मी सम्झन्छन्। “दुई-तीन दिन पर्खिएर जहाजको टिकट काटेको थिएँ,” उनी भन्छन्।मुल्मी पहिलो पटक २०१४ सालमा जहाज चढेको बताउँछन्। “सोह्र रुपैयाँ तिरेर बुबासँगै पोखराबाट जहाजमा काठमाडौं गएको थिएँ,” पहिलो जहाज उडान सम्झिँदै उनी भन्छन्, “डकोटा जहाजमा मान्छे र सामान दुवै एकै ठाउँमा राखिन्थ्यो। २५-३० जना मान्छे चढ्थे, एक पटकमा।”त्यति वेला पोखराबाट काठमाडौं जाने पैसा हुनेहरू जहाज चढ्थे। आर्थिक अवस्था कमजोर भएकाहरू पैदल हिंड्थे। उनीहरू पाँचौं दिन काठमाडौं पुग्थे।
७१ वर्ष पुरानो पोखरा विमानस्थल।
नागरिक उड्डयनका विज्ञ नारायणबहादुर सिंह डंगोल सन् १९६४ (वि.सं २०२०-२१ सालमा) पोखरा विमानस्थल आएका थिए, प्राविधिकका रूपमा। पोखरा विमानस्थलमा लामो समय एअर ट्राफिक कन्ट्रोलका रूपमा काम गरेका ८१ वर्षीय डंगोल खुला चौरमा जहाज उडाएको सम्झन्छन्। ‘त्यति वेला रन-वे थिएन। घाँसको मैदान थियो। पोखरा-भैरहवा जहाज उड्ने गर्थ्यो,” उनी भन्छन्, “अहिलेको तुलनामा त्यति वेला झन् बढी पोखरामा फ्लाइट हुने गर्थ्यो।”
पोखरा-काठमाडौं जहाज उडाउने पाइलटहरू बबी शाह, आरटी उपाध्याय लगायतको नाम अझै पनि डंगोल स्मरण गर्छन्। पुस १७ मा उद्घाटन भएको नयाँ अन्तर्राष्ट्रिय विमानस्थलका लागि पनि प्राविधिक अध्ययनमा डंगोल खटिएका थिए।पोखरामा जहाज चढेर गाडी आएको थियो। समाजशास्त्री तथा पोखराका ज्ञाता विश्व सिग्देल भन्छन्, “पोखराको यो रोचक कुरा नै हो, पहिले जहाज आयो र त्यही जहाज चढेर दोस्रोमा जीप आयो।”राजा महेन्द्रले आफू चढ्नका लागि काठमाडौंबाट जहाजमा जीप ल्याएका थिए। जुन तत्कालीन राजारानीको निवास रत्न मन्दिरमा राखिन्थ्यो। २०२५ सालमा सिद्धार्थ राजमार्ग र २०२८ सालमा पृथ्वी राजमार्गको निर्माणसँगै बल्ल पोखरामा बस र मोटर लगायत यातायातका साधन चल्न शुरू भयो।
पहिलो विमानस्थल जनताको श्रमदानले नै बनेको सिग्देल बताउँछन्। उनका अनुसार, खुला घाँसे मैदान रहेको मुस्ताङचोकमा जहाज नआउँदा स्थानीय बासिन्दाले गाईगोरु चराउने गर्थे। ”जहाज आइसकेपछि बल्ल सिटी फुक्दै गाईगोरु धपाउने र मान्छे रोक्ने गरिन्थ्यो,” सिग्देल भन्छन्।दिनहुँ काठमाडौं, भैरहवा, जनकपुर, नेपालगञ्ज लगायतका ठाउँका लागि आन्तरिक उडान गर्न व्यस्त रहेको पोखरा विमानस्थलमा अब भने जहाज उड्नेछैनन्। एक हजार १५६ रोपनी क्षेत्रफलमा फैलिएको ७१ वर्ष पुरानो विमानस्थल के हुन्छन् त?पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका निर्देशक विक्रम गौतम भन्छन्, “पुरानो पोखरा विमानस्थलमा अब अल्ट्रालाइट हेलिकोप्टर जोमसोम उडानका लागि प्रयोग हुनेछ।”
यससँगै पुरानो विमानस्थलमा नयाँ विमानस्थलको दिशानिर्देश गर्ने दूरी देखाउने यन्त्र राखिएको छ। त्यस्तै, हाललाई तेल ल्याउने सुविधाका लागि पनि प्रयोग गरिने गौतम बताउँछन्। यसलाई उड्डयन सम्बन्धी तालीम केन्द्रका रूपमा विकास गरिने उनको भनाइ छ।
स्थानीय बासिन्दा तथा बुद्धिजीवी भने पुरानो विमानस्थललाई अन्य व्यापारिक प्रयोजनका लागि प्रयोग नगरी खुला ठाउँका रूपमा संरक्षण गर्नुपर्ने आवाज उठाउन थालेका छन्। “पोखराको आवादी हेर्दा पाँच प्रतिशत पनि खुला ठाउँ छैन। कंक्रिट र कोलाहललाई मात्रै विकास भएको मान्न सकिन्न,” समाजशास्त्री एवं पोखराका जानकार सिग्देल भन्छन्, “स्मार्ट सिटीको योजनामा रहेको पोखरामा अन्तर्राष्ट्रिय अभ्यास अनुसार कम्तीमा ४० प्रतिशत खुला ठाउँ हुनुपर्ने हो, जसमा खेल मैदान, रङ्गशाला, सांस्कृतिक केन्द्र, पार्क हुन सक्छन्।”यो विमानस्थललाई अरू प्रयोजनमा प्रयोग नगरी खुला ठाउँका रूपमा राख्नुपर्ने सिग्देल बताउँछन्। यसले पोखराको इतिहास बोकेको बताउँदै उनी भन्छन्, “भोलि विपद्का वेलामा आश्रय लिने खुला ठाउँका रूपमा संरक्षण गर्नुपर्छ।”
Comments