काठमाडौं : नेपाल राष्ट्र बैंकले अर्थतन्त्रका केही सूचकमा सुधार भएको तथ्यांक सार्वजनिक गरेको छ।
पछिल्लो पटक निजी क्षेत्र अर्थतन्त्र जोगाऔं अभियानमा जुटेको छ। निजी क्षेत्रले सरकार, राष्ट्र बैंक तथा राजनीतिक दलका नेताहरूलाई भेटी अर्थतन्त्र जोगाउनका लागि आग्रह गरिरहेको छ। राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको कात्तिकसम्मको तथ्यांकमा चालू आर्थिक वर्षको चार महिनाको तथ्यांक सकारात्मक देखिएको छ।
राष्ट्र बैंकका अनुसार विदेशी मुद्राको सञ्चिति १५ करोड डलरले बढेको छ। शोधनान्तर स्थिति २० अर्ब ३० करोड रुपैयाँले बचतमा छ। कात्तिकसम्म रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको छ। अमेरिकी डलरमा १०.८ प्रतिशतले रेमिट्यान्स आप्रवाह बढेपछि विदेशी मुद्राको सञ्चितिमा सुधार आएको छ। आयात चुलिँदै गएपछि राष्ट्र बैंक तथा सरकारको कडाइले १८ प्रतिशतले आयात घट्नुका साथै अर्थतन्त्रमा सकारात्मक सूचक देखिएको हो।
निजी क्षेत्र भने राष्ट्र बैंक र सरकारले ल्याएका आर्थिक नीति र मौद्रिक नीतिप्रति सकारात्मक छैन। चालू पुँजी कर्जा मार्गदर्शनले समस्या पारेको भन्दै निजी क्षेत्रले दुई वर्षसम्म रोक लगाउन आग्रह गर्दै आएको छ। ब्याजदर घटाउन पहल नगरेको भन्दै निजी क्षेत्र सरकारसँग असन्तुष्ट छ। त्यस्तै आयातमा कडाइ गर्दा पनि निजी क्षेत्रले विरोध जनाउँदै आएको थियो। तर, सरकारले पछिल्लो समयमा सबै किसिमका आयात खुला गरिसकेको छ। सुविधाजनक अवस्थामा पुगौं भन्न गाह्रो भए पनि पछिल्लो अवस्थामा सुधार भएको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक एवं प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन्। विदेशी विनिमय सञ्चितिमा दबाब कम हुँदै गएको छ।
अघिल्लो महिनाको तुलनामा अर्थतन्त्रका सूचक सकारात्मक हुँदै गएको भट्ट बताउँछन्। ‘पूर्णतया सुधारको अवस्थामा पुगिसक्यौं भन्न त गाह्रो छ’, भट्ट भन्छन्, ‘विदेशी मुद्रा सञ्चितिमा दबाब मत्थर भएको छ, अन्तर्राष्ट्रिय परिस्थिति प्रतिकूल नभई पेट्रोलियम पदार्थको भाउ नबढे अर्थतन्त्र सहज हुन्छ।’
असोजमा ९ अर्ब ४८ करोड डलर रहेको विदेशी मुद्रा सञ्चिति १ महिनामै १५ करोड डलरले बढेको राष्ट्र बैंकले जनाएको छ। १४ महिनापछि असोजमा शोधनान्तार बचत भएको थियो। कात्तिकमा पनि त्यसले निरन्तरता पाएको छ। त्यस्तै असोजको तुलनामा कात्तिकमा मुद्रास्फीति पनि केही कमी आएको छ। रेमिट्यान्स आप्रवाहमा उल्लेख्य वृद्धि विदेशी भट्ट बताउँछन्।
असारसम्म राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई दिएको स्थायी तरलता सुविधा २५० अर्बको हाराहारीमा हुँदा कात्तिकसम्म ५ हजार अर्ब पुगेको छ। ‘हामी कम्फटेबल भयौंभन्दा पनि केही महिनाअघिको तथ्यांक हेर्दा सुधारोन्मुख छ’ भट्टले भने।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले निजी क्षेत्रको पीडा राष्ट्र बैंकले बुझेर पनि बुझ्न नचाहेको बताए। ‘अहिलेकै अवस्थालाई निरन्तरता दिनुपर्छ, थप कडाइले निजी क्षेत्र थेग्न सक्दैन’ श्रेष्ठ भन्छन्।
कालोसूची राख्ने व्यवस्थाले निजी क्षेत्र चिन्तामा छ। स्प्रेडदर चार प्रतिशत बनाउनुपर्नेमा अझै बढी नै कायम गरेको श्रेष्ठ बताउँछन्। ‘ब्याज घटाउने र निजी क्षेत्र प्रतिस्पर्धी गराउन सरकार र राष्ट्र बैंक कतैबाट पहल भएन’, श्रेष्ठ भन्छन्, ‘अर्थतन्त्र राम्रो भएदेखि सुधार देखिनुपर्ने त्यसो देखिँदैन।’ डेढ सय अर्ब बजारबाट सोचन गर्ने राष्ट्र बैंकको नीतिले निजी क्षेत्र त्रसित भएको बताए। ‘सुधारका लागि एक÷दुई वर्ष राहत दिनुपर्छ’, श्रेष्ठ भन्छन्, ‘निजी क्षेत्रसँग सहन सक्ने अवस्था छैन।’
उता राष्ट्र बैंकका प्रवक्ता भट्टले निजी क्षेत्रले पनि सुधारको महसुस गर्ने बताउँछन्। ‘ब्याजदरको बढोत्तरी रोकिएको छ। स्प्रेडदर नीतिका कारण ब्याजदर बढ्न नदिने भएकाले निजी क्षेत्र हतोत्साहित हुनुभन्दा पनि आशावादी हुनुपर्छ’ भट्ट बताउँछन्।
शोधनान्तर बचतमा
नेपाल राष्ट्र बैंकका अनुसार असोजमा शोधनान्तर स्थिति १२ अर्ब ४३ करोड रुपैयाँ रहेकोमा कात्तिकमा २० अर्ब ३ करोड रुपैयाँले बचतमा छ। समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ५० अर्ब ३८ करोडले घाटामा थियो। अमेरिकी डलरमा शोधनान्तर स्थिति १४ करोड ९६ लाखले बचतमा छ। समीक्षा अवधिमा गत आवमा १ अर्ब २७ करोडले घाटामा थियो। बाह्य क्षेत्रबाट बढी तरलता प्राप्त हुँदा शोधनान्तर स्थिति बचतमा जान्छ। चालू आर्थिक वर्षको पहिलो दुई महिना शोधनान्तर स्थिति घाटामै थियो। त्यसयता भने निरन्तर सुधार देखिएको छ।
यस अवधिमा चालू खाता ३५ अर्ब ४० करोडले घाटामा छ। अघिल्लो आवको समीक्षा अवधिमा चालू खाता २ खर्ब २० अर्ब ९१ करोडले घाटामा थियो। अमेरिकी डलरमा चालू खाता २८ करोडले घाटामा छ। समीक्षा अवधिमा अघिल्लो वर्ष अमेरिकी डलरमा १ खर्ब ८६ अर्ब घाटामा थियो।
बढ्यो रेमिट्यान्स
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको चार महिनामा रेमिट्यान्स आप्रवाह २०.४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो। पछिल्लो चार महिनामा वैदेशिक रोजगारीमा जानेको संख्या उल्लेख्य बढेको छ। वैदेशिक रोजगार विभागका अनुसार साउनदेखि मंसिरसम्म ३ लाख ४७ हजार ३ सय ४० जना वैदेशिक रोजगारीमा गएका छन्।
घट्यो मुद्रास्फीति
असोजमा ८.५० प्रतिशत मुद्रास्फीति भएकोमा कात्तिकमा केही घटेको छ। राष्ट्र बैंकका अनुसार कात्तिक महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ८.०८ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ६.०४ प्रतिशत रहेको थियो। मुद्रास्फीति ७.३८ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ८.६३ प्रतिशत छ। समीक्षा महिनामा खाद्य तथा पेयपदार्थ समूह अन्तर्गत रेस्टुरेन्ट तथा होटल उपसमूहको मूल्य सूचकांक १५.९७ प्रतिशत, सुर्तीजन्य पदार्थको ११.८१ प्रतिशत, दुग्ध पदार्थ तथा अन्डाको ९.३३ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.१९ प्रतिशत र मदिराजन्य पेय पदार्थको ८.८४ प्रतिशतले बढेको छ।
घट्यो आयात
आर्थिक वर्ष २०७९-८० को चार महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई ५३२ अर्ब ६९ करोड रुपैयाँ रहेको छ। गत वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको छ।
Comments