मोरक्कोका प्रशिक्षक वालिदले रचे इतिहास, बने विश्वकप क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकन प्रशिक्षक

Bhugolpark

२१ मंसिर, २०७९,०६:४८

२१ मंसिर, काठमाडौं । मोरक्कोका फुटबल प्रशिक्षक वालिद रेग्रागुईले आफ्नो टिमलाई फिफा विश्वकपको क्वाटरफाइनलमा पुर्‍याएर नयाँ इतिहास रचेका छन् ।

कतारमा जारी विश्वकप २०२२ मा पूर्वविजेता स्पेनलाई पराजित गर्दै मोरक्को पहिलो पटक विश्वकप क्वाटरफाइनल पुग्दा प्रशिक्षक वालिद विश्वकपको क्वाटरफाइनल पुग्ने पहिलो अफ्रिकन प्रशिक्षक बनेका हुन् ।

यसअघि क्यामरुन, सेनेगल र घाना विश्वकप क्वाटरफाइनल पुग्दा सबैमा युरोपियन प्रशिक्षक थिए । तर यस पटक भने कतारमा विश्वकप खेलेका पाँचवटै अफ्रिकन टिममा प्रशिक्षक आ–आफ्नै देशका थिए । त्यसमा वालिद सफल रहे ।

मोरक्कोका पूर्वखेलाडी समेत रहेका वालिद यसअघि सन् २०१२ मा राष्ट्रिय टिमको सहायक प्रशिक्षक थिए । उनी मोरक्को टिमको प्रशिक्षक बनेको धेरै समय पनि भएको छैन । गत अगष्टमा मात्र मोरक्कोको प्रशिक्षक बनेका उनको प्रशिक्षणमा मोरक्कोले यस विश्वकपमा गज्जबको प्रदर्शन गरिरहेको छ र अहिलेसम्म अपराजित छ ।

वालिद मोरक्कोको प्रशिक्षक बन्नुमा पनि संयोग जोडिएको छ । गत अगष्ट अन्तिममा मुख्य प्रशिक्षक भाहिद हालिहोडिचलाई बर्खास्त गर्दै मोरक्को फुटबल संघले पूर्व खेलाडी वालिदलाई प्रशिक्षक नियुक्त गरेको थियो ।वालिदले मोरक्कोलाई विश्वकपमा छनोट गराएकोमा भाहिदलाई धन्यवाद दिँदै मोरक्को राष्ट्रिय टिमको प्रशिक्षक बन्ने सपना पूरा भएको बताएका थिए ।

स्टार खेलाडीहरु हाकिम जियाच र नाउसेर माज्रोओउईलाई टिम बाहिर राखेपछि संघ र प्रशिक्षकबीच फरक मत हुँदा भाहिदलाई बर्खास्त गरिएको थियो । तर वालिदले भने हाकिम जियाच लगायत खेलाडी समेट्दै मोरक्कोको टोली घोषणा गरेका थिए ।

उनले सेप्टेम्बर २१ मा मदागास्कर विरुद्ध १–० को जितबाट मोरक्कोको प्रशिक्षकका रुपमा डेब्यु गरेका थिए । त्यसयता उनी अपराजित छन् ।त्यसपछि मोरक्कोले मैत्रीपूर्ण खेलमा चिली र जर्जियालाई हराउँदा पाराग्वेसँग बराबरी खेलेको थियो ।जारी विश्वकपमा भने मोरक्कोले समूह चरणमा दुई खेल जित्दा एक खेल बराबरी गरेको थियो । मोरक्कोले स्वर्णिम पुस्ताको बेल्जियमलाई विश्वकपको समूह चरणमै हराएको थियो ।


138 Views

Comments